मुक्तक सुनाएर बाढी पीडितका लागि एक लाख संकलन

६ साउन, काठमाडौं । शनिबार काठमाडौंमा भएको मुक्तक माहौल कार्यक्रमबाट एकलाख ७ हजार २ सय ८९ रुपैंया संकलन भएको छ । यो रकम सरकारको बाढी पीडित राहत कोषलाई प्रदान गरिने नेपाल मुक्तक प्रतिष्ठानले जनाएको छ ।

muktak

सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने सोचका साथ सुदूरपश्चिमाञ्चलका बाढी पीडितहरुको सहयोगार्थ कार्यक्रम गरिएको थियो । कार्यक्रममा सबै अतिथिले एकसय, दुईसय र तीन सय रुपैयाँको टिकट काटेका थिए । मुक्तक माहौलमा मुक्तक सुनाउन नेपालगंज, भैरहवा र पोखरादेखि मुक्तककारहरु उपस्थित भएका प्रतिष्ठानका महासचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नयाँ र पुराना पुस्ताका तीन दर्जन मुक्तककाहरुले तीनतीनवटा मुक्तक सुनाएका थिए । सर्जकहरु कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, यादव खरेल, चेतन कार्की, राजेन्द्र थापा, तीर्थ श्रेष्ठ, बूँद राना, विजय बजिमय, लव गाउँले, वियोगी बुढाथोकी, प्रकट पंगेनी शिव, राधेश्याम लेकाली, बादल घिमिरे, निर्मला स्नेही लगायत मुक्तककारहरुका चोटिला प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा अमेरिकाबाट शिवप्रकाश र ज्ञानेन्द्र दाहाल, इजरायलबाट सुचित्रा खनिया र अफगानिस्तानबाट केदार संकेतका मुक्तक पनि सुनाइएको थियो ।

कमेन्टहरु
Loading...