प्रहरीको हतियार खरिद प्रस्तावमा सेनाको आपत्ति

६ साउन, काठमाण्डौं । युद्धका बेला प्रयोग हुने अत्याधुनिक हातहतियार खरिद गर्न नेपाल प्रहरीले गृहमन्त्रालयसमक्ष प्रस्ताव गरेपछि नेपाली सेनाको उच्च तहले आपत्ति जनाएको छ । यो प्रस्ताव अन्तर्राष्ट्रिय प्रावधान र मापदण्ड विपरीत रहेको टिप्पणी सैन्य अधिकारीको छ ।

‘प्रहरीले शक्तिशाली हातहतियार खरिदको प्रस्ताव गरेर राष्ट्रिय सुरक्षाको जिम्मा पाएको सेनासरह समानान्तर भूमिका खोजेको छ,’ सेनाका एक उच्च अधिकारीले भने, ‘कसलाई कस्ता हातहतियार आवश्यक छ भन्नेबारे सरकारले निर्णय लिने हो तर प्रहरीले अन्तर्राष्ट्रिय प्रावधान र मापदण्डविपरीत प्रस्ताव गरेको छ ।’

उच्च स्रोतका अनुसार सेनाले आगामी सुरक्षा समिति बैठकमा प्रहरी प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरेको कारोबारदैनिकमा खबर छ । प्रहरीले विशेष कार्यदललाई एके ४७, जीपीएमजी तथा गण र गुल्ममा कार्यरत जनशक्तिलाई एलएमजी, एसएमजी, एसएलआर तथा भीआइपी सुरक्षाका लागि एमएम ग्लक, एचके यूएसपी तथा चाइनिज पेस्तोल खरिदको प्रस्ताव गरेको थियो ।

गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिले वैशाखमा चारवटै सुरक्षा निकाय, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई नयाँ हतियार आवश्यक रहेको भन्दै मातहत मन्त्रालयमार्फत विवरण पेस गर्न निर्देशन दिएको थियो । रक्षाप्रवक्ता द्वारिकाप्रसाद आचार्यले प्रहरीको प्रस्तावबारे औपचारिक रुपमा कुरा आएपछि मात्रै प्रतिक्रिया दिने बताए । cp. onlinekhbar.com

कमेन्टहरु
Loading...