महानगरपालिकाले कर्मचारीलाई बाँड्यो शनिबार र सार्वजनिक बिदाको पनि भत्ता

६ साउन, काठमाण्डौं ।महानगरपालिकाका कर्मचारीले नियमविपरीत अतिरिक्त पारिश्रमिक र भत्ता लिएर ठूलो परिणाममा आर्थिक हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६८/६९ को आन्तरिक लेखापरीक्षणको प्रतिवेदन विभाग, महाशाखा, शाखा, समितिका कर्मचारीलाई जथाभावी अतिरिक्त भत्ता दिएको पाइएको हो । तोकिएको काम गर्न समय अभाव भए अतिरिक्त पारिश्रमिक दिने व्यवस्था भए पनि त्यसबाहेक पनि कर्मचारीले थप तलब भत्ता लिएको पाइएको छ ।

प्रतिवेदनमा प्रायः जसो सबै विभाग, महाशाखा र शाखाका कर्मचारीले बाहै्र महिना अतिरिक्त समय (बिहान ७- ७ बेलुका) काम गरेर भत्ता लिएको उल्लेख छ । काम गर्नुअघि अधिकारप्राप्त अधिकारीको स्वीकृत लिने प्रावधान भए पनि त्यसविपरीत भत्ता लिएको हो । अतिरिक्त भत्ता तथा पारिश्रमिक लिएको कारणसमेत खुलाएको छैन । अतिरिक्त समय काम गरेको विवरणसमेत महानगरसँग छैन ।

प्रतिवेदनमा महानगरका प्रमुख र विभागीय प्रमुखको मिलेमतोमा चरम आर्थिक हिनामिना भएको देखिन्छ । कति कर्मचारीले दोहोरो भत्ता लिएको समेत उल्लेख छ । बजेट तथा नीति कार्यक्रम बनाउँदा महानगरले नियमभन्दा बढी जनशक्तिलाई भत्ता दिएको विवरणमा उल्लेख छ । कार्यकारी प्रमुखको सचिवालय, आर्थिक व्यवस्थापनलगायत सम्पूर्ण महानगर शनिबारसमेत (७- ७) खुल्ने गरी भत्ता पनि सार्वजनिक सूचनामार्फत जनतालाई सुसूचित गरेको पाइँदैन । यसरी बिदाका दिन काम गर्नुपर्ने भए सार्वजनिक सूचना जारी गर्नुपर्ने कानुनी प्रावधान रहेको कान्तिपुरदैनिकमा खबर छ ।

अतिरिक्त भत्ता लिनेमा अधिकृत हरि कुँवर, अधिकृत प्रह्लाद घिमिरे, इन्जिनियर गम्भीरलाल श्रेष्ठ, नगर निरीक्षक बद्रीमान नगरकोटी, नकुल चौलागाईं, सिवेन्द्रगोपाल कारञ्जित, रामेश्वर गिरी, पुनम महर्जन लगायतका कर्मचारी छन् । कुँवर तत्कालीन कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र हालका लक्ष्मण अर्यालको सचिवालयमा कार्यरत छन् ।

कमेन्टहरु
Loading...