बालगृहका बालबालिकासँग अक्षरयात्रा

पोखरा, २१ असोज/साहित्य र सर्जकलाई जीवन र जगतको यथार्थवोधनजिक पु¥याउन पोखराबाट हुँदै आएको अक्षरयात्रा साहित्यिक अभियान यसपाली बालगृहमा पुगेको छ । परिवार गुमाएका, परिवार भएर पनि एकल बनेका तथा अनाथ बालबालिकाको कथा यसपटक अक्षरयात्रीले सिर्जनामा सुनिए ।

प्रत्येक महिनाको तेस्रो शनिबार हुँदै आएको अक्षरयात्रा यसपाली पोखरा डिहिकोपाटकमा रहेको रेन्बो चिल्ड्रेन होमका बालबालिकाबीच भएको हो । ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नारा नै दिएर गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले देशका विभिन्न ठाउँमा अक्षरयात्रीलाई पु¥याउँदै आएको छ ।

यसअघिको अक्षरयात्रा लोककवि अलिमियाको गाउँमा पुगेको थियो भने त्यो भन्दाअघि म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम र जीवन र जगतलाई नजिकबाट नियाल्न सेती घाटमा सिर्जनाकर्मी पुगेका थिए । अक्षरयात्राको यो १ सय ४६ औं शृंखला हो । बालगृहमा रहेका बालबालिकाको कथालाई सिर्जनामा उतारेर अक्षरयात्रीलेमात्रै सुनाएनन्, बालबालिकाले समेत आफ्नाा सिर्जना सुनाए । बालबालिकाले घरबिहीन हुनुपर्दाको पीडा, बाहिरी समाजले आफूलाई हेर्ने दृष्टिकोण र आश्रय पाएको बालगृह समेटिएको कविता उनीहरुले वाचन गरे भने गीतसमेत गाएर सुनाए ।

‘अक्षरयात्रालाई जीवन र जगतसँग जोड्न र बुझ्न विभिन्न ठाउँ र क्षेत्रमा हामी पुगेका छौं,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘विभिन्न क्षेत्रमा हामी पुगेकामात्रै छैनौं, त्यहाँको सम्भावना र अवस्थालाई उजागर गर्ने एउटा साझा मञ्च पनि निर्माण गरिएको छ ।’ रेन्बो चिल्ड्रेन होमकी सञ्चालिका तथा कार्यक्रमको सहअध्यक्षता गरेकी गोमा ढकालले स्थापनामा भूमिका खेल्न पाएको संस्था गजल सन्ध्यालाई आज बालबालिकासँग जोड्न पाएकोमा खुसी व्यक्त गरिन् । चिल्डेन होममा फरक परिस्थितिका ४१ जना बालबालिकालाई आश्रय दिएको बताउँदै अब उनीहरुलाई पनि साहित्यसँग जोड्दै लैजाने ढकालले बताइन् ।

कार्यक्रममा झन्डै २ दर्जन सिर्जना सुनिए । बालगृहका अन्तिम परियारले आफूहरु घरबारबिहीन हुनुपर्दाको कथा कवितामा सुनाएर भावुक बनाए । उनले गीतसमेत गाएका थिए । यस्तै निरुता बिकले कविता र गीत सुनाइन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी सदस्य गीता तिवारी, सन्ध्याका संस्थापकमध्येका गोविन्दरवण पराजुली लगायतले जीवनको वोध गराउने काम अक्षरयात्राले गरेको बताउँदै सिर्जना सुनाए । यात्रामा सविता सापकोटा, माया कुँवर, रिता लामिछाने, प्रदीप सुवेदी, भरत आचार्य, पिताम्बर गौतम ‘प्रकट’, केआर ढकाल, संगीता आभास, गीता पहारी, खिम लामिछाने, प्राञ्जल, अमृत पौडेल, लक्ष्मण डुम्रे, कुमारी बुढा लगायतले सिर्जना सुनाए ।

सन्ध्याका अध्यक्ष सुवेदी र चिल्ड्रेन होमकी अध्यक्ष ढकालको अध्यक्षताको भएको कार्यक्रमको सञ्चालन सचिव वसन्त विनोद र स्वागत रिता लामिछानेले गरेकी थिइन् । सन्ध्याले साहित्यिक पर्यटनको अवधारणालाईसमेत आत्मसात गर्दै अक्षरयात्रा र महिनाको दोस्रो शनिबार नियमित गजल वाचन, विभिन्न समयमा विषेश कार्यक्रमहरु गर्दै आएको सचिव वसन्तले जानकारी दिए ।

कमेन्टहरु
Loading...