बीपी स्मृति दिवसमा राजनीति र साहित्यिक व्यक्तित्वमाथि विचार गोष्ठी

पोखरा, ६ साउन/नेपाली लेखक संघ, कास्कीले ३२ औं स्मृति दिवसका अवसरमा आज वीपी कोइरालाको साहित्य र राजनीतिक योगदानका विषयमा वृहत् परिचर्चा कार्यक्रम जनप्रिय क्याम्पसमा सम्पन्न गरेको छ । कार्यक्रममा आजको राजनीति र वी पी विचार शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक विश्लेषक तथा लेखक पुरुषोत्तम दाहालले प्रजातन्त्रमा विश्वास राख्नेहरुका लागि वीपीका विचारहरुले अझै पनि लामो समयसम्म महत्व राख्ने बताउनुभयो ।

त्यसैगरी, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जननायक वीपी कोइराला विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. यज्ञप्रसाद अधिकारीले वीपीलाई जीवनभर आस्थाको लडाइँ लड्ने वीर योद्धाका रुपमा चिनाउनुभयो । त्यस्तै वीपीका उपन्यासमा वैचारिक आयाम शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. कुमारप्रसाद कोइरालाले वैचारिक आयामका दृष्टिले वीपीका उपन्यास बहुमूल्य रहेको बताउनुभयो । त्यसैगरी, कथाकार विश्वेश्वरप्रसाद कोइरालाको कथायात्रा र कथात्मक प्रवृत्ति शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै रीता कँडेल पौडेलले कोइराला नेपाली कथा साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका आरम्भकर्ताका रुपमा व्याख्या गर्नुभयो ।

नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र राजनीतिमा वीपी कोइरालाका नामले परिचित कोइरालाको साहित्यिक र राजनीतिक योगदान तथा व्यक्तित्वको बारेमा सहभागीहरुले वृहत परिचर्चा गरेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईले वीपी राजनीतिका शिखर पुरुष र साहित्यका सफल व्यक्तित्व भएकोमा जोड दिनुभयो । संघ कास्कीका अध्यक्ष लक्ष्मीशरण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कुुसुमाकर न्यौपानेले स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेस निकट विभिन्न संघसंस्थाहरुले हरेक वर्ष साउन ६ गते वीपी स्मृति दिवस मनाउँदै आएका छन् ।

 

कमेन्टहरु
Loading...