दशैंको टिकाको साइत यस्तो छ

काठमाडौं, १३ असोज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत मध्ये दिनमा रहको जानकारी दिएको छ । विसं २०७४ को असोज १४ गते विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सोही दिन बिहान ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’–उनले भने ।

विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ। असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।

कमेन्टहरु
Loading...