दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट पुण्य पौडेल पुरस्कृत

पोखरा, ७ असोज /प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा परिवारजनद्धारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट अग्रज पत्रकार पुण्य पौडेल पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको पुरस्कार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी नगद ३३ हजार ३ सय ३३, दोसल्ला तथा सम्मानपत्र रहेको छ ।

शिक्षामन्त्री श्रेष्ठले स्व दयाशंकर पालिखेको स्मरण गर्दैै पालिखेकै प्रेरणावाट राजनीतिमा लागेको उल्लेख गरे । उनले पोखरालाई भैरहवासँग फाष्ट ट्रयाकमा जोड्न सुरुङमार्र्ग वनाउनुपर्ने भनाई राखे । मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन पछि संघ र प्रदेशको निर्वाचनपछि संविधान कार्यान्वन हुने भनाई राखे ।

दुर्इ दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल पोखरापत्र दैनिकमा प्रधानसम्पादकको रुपमा कार्यरत छन्। अग्रज पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठन भएको प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले अनुमोदन गरेको हो।

छनोट समितिमा पराजुलीसहित वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र नवराज सुवेदी तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना पदेन सदस्य थिए। २०४५ सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पौडेल छलफल, बुधबार, जनआस्था, रेडियो नेपाल, पोखरा हटलाईन, हिमाली आवाज, हिमचुली एफएम लगायतका छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरिसकेका छन्।

पुरस्कृत व्यक्तित्व पुण्य पौडेलले सम्मानले विगतमा जस्तै निडर रुपमा पत्रकारितामा निरन्तर कृयाशिल हुन प्रेरित गरेको उल्लेख गरे ।

महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली,एमाले केन्द्रीय सल्लाहकार परिषद उपाध्यक्ष खगराज अधिकारी, काँग्रेस नेता शुक्रराज शर्मा, माओवादी जिल्ला ईन्चार्ज राजकाजी तमु करण,प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतिक,कुशुमकेशव पराजुली महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, दयाशंकर पालिखेको परिवारका तर्फवाट सुनयना पालिखे, महासंघका कास्की शाखाका उपाध्यक्ष त्रिभुवन पौडेल तथा सचिव रामप्रसाद तिमिल्सिना लगायतले भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...