बाढीले सडक भत्किदा अर्मला क्षेत्रमा यातायात अवरुद्ध,

पोखरा, २ साउन/अविरल वर्षाले सडक भत्किदा कास्कीको अर्मला, जुम्लेटी, धार्मी लगायतका क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । महेन्द्रगुफा कालामुढा सडक खण्डको महेन्द्र गुफा नजिकैको करिब ४ मिटर कालो पत्रे सडक बाढीले बगाएपछि विगत तीन दिनदेखि त्यस क्षेत्र यातायात सेवाबाट विच्छेद भएको हो । यातायात नचल्दा त्यस क्षेत्रका स्थानियवासी मर्कामा गरेका छन् भने बजार व्यवस्थापन नहुदाँ कृषि उत्पादन समेत सड्ने अवस्थामा पुगेको छ ।

बाढीले सडक बगाउनुका साथै ठुलीवेशी फाँटमा लगाइएको धानवाली नष्ट भएको छ । जमिन भत्किदै गएका कारण त्यस क्षेत्रको बस्ती समेत जोखिममा परेको स्थानियवासीले बताएका छन् । सडक मर्मतका लागि स्थानिय धन बहादुर कार्कीले संयोजकत्वमा समिति गठन गरेर काम भए पनि सडक मर्मत गर्न अझै तीन दिन लाग्ने बताइएको छ ।

समितिले जालीमा ढुङ्गा भरी भासिएको जमिनलाई उकास्ने काम गरिरहेको छ । समितिमा सचिव भरत गुरुङ, कोषाध्यक्ष ओम कुमारी गुरुङ र सदस्यहरु कृष्ण के.सी, विन्दु आचार्य, नविनचन्द्र अधिकारी र रवि बस्नेत रहेको समितिले मर्मत कार्यलाई निरन्तरता दिइरहेको छ ।

यसैबिच क्षतिग्रस्त सडकको बुधबार पोखरा उप—महानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारी, इन्जिनियर शारदा मोहन काफ्ले लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरिक्षण पछि कार्यकारी अधिकृत अधिकारीले मर्मत कार्य तत्काल सम्पन्न गरी यातायात सेवा सञ्चालन गर्न निर्देशन दिए । उनले मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने आश्वासन समेत दिए ।

कमेन्टहरु
Loading...