कतारको दोहामा प्रवासी नेपालीको मन जित्न सफल डी गोठाले

पोखरा, ३० भदौ/मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “क्यु प्ह्रो छे” अर्थात् “भेडी गोठाले”को कतारको राजधानी दोहामा विशेष प्रदर्शन सम्पन्न भएको छ ।
दुर्गा गुरुङ “मिलन” कार्यकारी निर्माता रहेको सो चलचित्र हङकङपछि विदेशमा दोस्रोपटक कतारमा प्रदर्शन भएको हो ।

हङकङमा उल्लेख्य दर्शकको माया पाएको सो चलचित्रले कतारमा समेत उत्तिकै माया पाएको कार्यकारी निर्माता गुरुङले जानकारी दिनुभयो । तमु प्ये ल्हु संघ कतार शाखा अन्तर्गतको सांस्कृतिक विभागको आयोजनामा भएको विशेष प्रदर्शनमा दर्शकको उल्लेख्य उपस्थिति रह्यो ।

सो चलचित्रकी नायिका खुशी गुरुङ चलचित्रको विशेष प्रदर्शनका लागि कतार पुगेर फर्किएकी छिन् । उनले कतारमा रहेका प्रवासी नेपालीको उल्लेख्य माया पाएको उल्लेख गरिन् । तमु प्ये ल्हु संघ लमजुङले बेंशीसहरमा निर्माण गर्न लागेको तमु जातिको धार्मिक धरोहर क्होइबो धिं तथा सामुदायिक भवनको सहयोगार्थ विशेष प्रदर्शनको आयोजना गरिएको उनले बताइन् ।

सुवास गुरुङको लेखन तथा निर्देशनमा बनेको सो चलचित्रमा नायिका खुशीसहित राजेश गुरुङ, अस्मी गुरुङ, गौरी गुरुङ, सुवास गुरुङ, सोनम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता गुरुङसहित चलचित्रका निर्माताहरूमा विक्रम गुरुङ (हङकङ), विजया गुरुङ (हङकङ) र दिपिका सिंजाली “मिलन” रहेका छन् । कतारको प्रदर्शनपछि अब छिट्टै बेलायतमा प्रदर्शन गर्ने तयारी भइरहेको कार्यकारी निर्माता दुर्गा गुरुङ “मिलन”ले जानकारी दिनुभयो ।

 

कमेन्टहरु
Loading...