बिपद् प्रतिकार्यको लागि उपलब्ध साधन स्रोतको लागत संकलन सुरु

गोकुल बानियाँ
२ साउन पोखरा / बिपद्का बेला प्रयोगमा आउने मानबिय स्रोत, साधनलाई तत्काल परिचालन गर्न सक्ने गरी क्षेत्रिय प्रशासन कार्यालय पोखराले आफ्नो क्षेत्रको लागत संकलन सुरु गरेको छ । खोज, उद्धार र राहतको लागि तत्कालै परिचालन गर्न सकिने गरी यस क्षेत्रमा भएका साधन स्रोतको लागत संकलन गर्न लागिएको हो ।

क्षेत्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउनेबारे सह क्षेत्रिय प्रशासक धु्रब प्रसाद ढकालको संयोजकत्वमा गठित समितिले एक साता अघि दिएको सुझाबको आधारमा आपतकालिन अबस्थामा प्रयोग गर्न सकिने सामानको लागत राख्न लागिएको हो । तत्काल उद्धारको लागि खटिने प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, शब बहान, दमकल लगायतका मानबिय तथा भौतिक स्रोतसाधनको तथ्याड्ढ संकलन गर्न लागिएको उप–क्षेत्रिय प्रशासक लोकराज रेग्मीले जानकारी दिए । त्यसका लागि पश्चिमाञ्चलका बिभिन्न जिल्लामा उपलब्ध साधन स्रोतको लागत पनि माग गरिएको छ । उपलब्ध स्रोत साधन अनुसार क्षेत्रिय स्तरमा बिपद् प्रतिकार्य योजना तयार गरी कार्यन्वयनमा ल्याईने छ ।

क्षेत्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको लागि युएनडिपीले गत माघ ९ गते ६६ लाख २४ हजार बराबरको उद्धार सामाग्री एबं अफिस संचालन सामाग्री समेत प्रदान गरेको छ । ३ जना कर्मचारी सहित अहिले क्षेत्रिय प्रशासन कार्यलय भित्रै क्षेत्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र संचालनमा छ । केन्द्रमा उपलब्ध कतिपय सामाग्री प्रयोगका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट बिज्ञ झिकाई दैनिक ड्युटिमा खटाईने रेग्मीले बताए ।
दातृ संस्थाबाट प्राप्त केहि सामाग्री कमसल देखिएकाले चाडैनै काम नलाग्ने अबस्थामा पुग्ने गरेको गुनासो बिभिन्न जिल्लाबाट क्षेत्रमा आएका छन् । औषधिको म्याद सकिदा स्टोरमै सडेर जाने अबस्थामा रहेको युएनडिपीका बृहत्तर बिपद् जोखिम ब्यबस्थापन कार्यक्रम अधिकृत दिपक केसीले बताए । जिल्ला र क्षेत्रय स्तरका आपतकालिन केन्द्रलाई उपलब्ध गराईएको सामाग्रीको ब्यबस्थापन सहि रुपमा हुन सकेको छैन उनले भने ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि पर्याप्त मात्रामा बिपद्का बेला आबश्यक सामाग्री नरहेको पाईएको छ । यसअघि सेतिबाढीका बेला भएका सामाग्रीको पनि प्रयोग नभएपछि दातृ निकायले आफुले दिएका सामानको प्रयोग र ब्यबस्थापन माथि प्रश्न उठाएका हुन् ।
यसैबिच पोखराको लामापाटनमा क्षेत्रिय स्तरको आपतकालिन अबस्थामा प्रयोग गर्न सकिने सामानको भण्डारण कक्ष निर्माण गरिने भएको छ । करिब साढे ३ करोडको लागतमा भण्डारण गृह निर्र्माणको तयारी भएको क्षेत्रिय प्रशासन कार्यालय पोखराले जनाएको छ । भण्डारण गृह निर्माणको लागि स्थान पहिचान गरी पहिलो चरणमा करिब ४० लाख रुपैया सहयोग पनि प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...