पोखरामा आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस सुरु, उद्घाटन खेलमा भट्टराईको विजयी सुरुवात

पोखरा, २६ भदौ/कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई बल हस्तान्तरण गर्दै मन्त्री केसिले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा ३५ वर्ष माथि एकलमा पोखराका गोपीबहादुर भट्टराईले पोखराकै मुनेष थापालाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे । ३५ वर्ष माथिकै एकलका अन्य खेलहरुमा सिमान्त गुरुङ्गले जन्मजय शम्शेर जबरालाई ६–१, ६–२ ले, टिम मण्डिखाटारका राजु श्रेष्ठले पोखराका सूर्य भुजेललाई ६–०,६–० मा, निमा लामा शेर्पाले भारतका राजेश सोधीलाई ६–०, ६–३ मा, भारतका कमलेश शुक्लाले नेपालका गिताराज शर्मा चालिसेलाई ६–१,६–० ले र भारतकै आशिष परमारले नेपालका हेमराज ढकाललाई ६–३, ६–४ ले पराजित गरे ।

४५ वर्ष माथिको एकलमा भारतका चन्द्रभुषणले नेपालका उत्तम बोगटीलाई ६–४, ६–० ले, पोखराका राजेन्द्र प्रसाद घिमिरेले बच्चु गोपाल बंशिलाई ७–६, ७–६ ले, नारायण पहारीले जंबु शेर्पालाई ६–१, ६–४ ले, मनोज विक्रम शाहले विनोद कायस्थलाई ६–४, ६–० ले, भारतका विजय कुमारले नेपालका विभु कायस्थलाई ६–३, ६–१ ले, काठमाण्डौका राजु श्रेष्ठले पोखराका पदम बहादुर गुरुङ्गलाई ६–२, ६–० ले, विकाश गुरुङ्गले लोक गुरुङ्गलाई ६–४, ६–४ ले, बिमलकुमार गुरुङ्गले भारतका हतिन्द्र पन्वारलाई ६–३, ६–० ले, आशिष सिग्देलले हर्विन्द्रसिंह चड्डालाई ६–०, ६–१ ले पराजित गरेका छन् ।

आइटिएफ सर्किट १ का खेलहरु सेप्टेम्बर ११ देखि १६ सम्म तथा सर्किट २ को खेलहरु सेप्टेम्बर १८ देखि २३ सम्म पोखरा रंगशालामा संचालन हुनेछन् । प्रतियोगितामा नेपाल, भारत र फिन्ल्याण्डका गरि ७१ खेलाडीहरुको सहभागिता रहेको छ । उनीहरुले ३५,४५ र ५५ वर्ष माथिको एकल तथा डबल्स स्पर्धामा भाग लिनेछन् । विजेता खेलाडीहरुले आइटिएफ सर्किटमा नम्बर जोड्नुका साथै ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्रि केसीले सुन्दर शहर पोखरा अब टेनिस शहरको नामबाट पनि चिनिने बताए । पोखराले छोटो समयमै टेनिसमा उल्लेख्य प्रगति हाँसिल गरेको भन्दै मन्त्रि केसिले पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा थप दुई टेनिस कोर्ट निर्माणका लागि मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

उद्घाटन समारोहमा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले राजधानिमा आयोजित जुनियर लेवलको आइटिएफमा नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिएको जनाउँदै यसपटक पनि नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिने आशा व्यक्त गरिन् । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जिल्ला तथा केन्द्रकै प्रयासमा प्रतियोगिता पोखरामा आयोजना गर्न सकिएको उल्लेख गरे । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...