मापसेबाट पाँच करोड आम्दानी, प्रेसर हर्न खोस्दै ट्राफिक

२ साउन, काठमाण्डौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउनेमाथिको कारबाहीबाट एक बर्ष अवधिमा ५ करोड २६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

mapaseआर्थिक बर्ष २०६९/५० असार मसान्तसम्मा ५८ हजार ५ सय ४७ सवारी चालकबाट उक्त रकम असुल गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले बताए ।

२०६८ मंसिर १७ बाट सुरु भएको अभियानमा मापसे गरेको भेटिने चालकबाट १ हजार रुपैयाँ जरिवाना लिने गरेको छ । ‘अभियानका सुरुवाती दिनमा दैनिक ३ सय हाराहारी फेला पर्थे,’ उनले भने, ‘अहिले त्यो संख्या १ सयदेखि १ सय ५० सम्ममा झरेको छ ।’

एक हजार जरिवानाले मात्र मापसे गर्नेको संख्यामा कमी नआएपछि २०६९ मंसिर २२ बाट चालकको लाइसेन्स प्वाल पार्ने अभियान थालिएको गिरीले सुनाए । शुक्रबार र शनिबार मापसे गर्नेको संख्या बढी हुने गिरीले बताउको नागरिक दैनिकमा खबर छ ।

प्रेसर हर्न जफत गर्दै ट्राफिक प्रहरीहरु

ट्राफिक प्रहरीले अनावश्यक रुपमा हर्न बजाउँदै हिँड्ने करिब एक हजार सवारीसाधनलाई कारबाही गरेको छ । अनाधिकृत रुपले हर्न जडान गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी जथाभावी हर्न बजाएको भन्दै प्रहरीले उपत्यकाका विभिन्न स्थानमा कारबाही सुरु गरेको हो । गत १८ हसारबाट सुरु गरिएको ‘हर्न निषेध’ अभियानका क्रममा बस, ट्रकलगायतका नौ सय ९३ सवारीसाधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले बताए ।

कारबाहीमा परेका सवारीसाधनको प्रेसर हर्न निकालिएको र थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको महाशाखाले जनाएको नयाँ पत्रिकामा खबर छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...