शहीद स्मृति आवासीय माविलाई कर्मचारी संगठनद्धारा शैक्षिक सामग्री प्रदान

पोखरा, २० भदौ/नेपाल राष्ट्रिय कर्मचारी संगठन कास्कीले निजामति सेवा दिवसको अवसर पारेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित शहीद स्मृति आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले दिवसको अवसरमा शहीदका परिवार अध्ययन गर्ने शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १७ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र  कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विद्यालय व्यवस्थापन समितिका सदस्य अमर ढुंगाना र विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले द्वन्द्व कालका सबै रिसिबी छाडेर अब विकासमा एकजुट हुनुपर्ने बताए । उनले अब बोलेर मात्र विकास भन्ने हैन कि गर्ने बेला आएको बताए । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले शहीदका छोराछोरीलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमले विद्यार्थीलाई कर्मचारी बुझ्न पनि सघाएको बताए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन कास्कीका कार्यवाहक अध्यक्ष रामचन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य अर्जुन थापा, आधिकारिक टे«ड युनियन कास्कीका अध्यक्ष भरत भुषाल, विद्यालय व्यवस्थापन समितिका सदस्य अमर ढुंगाना, विद्यालयका प्रधानाध्यापक मोना गिरी र कोषाध्यक्ष बिरेन्द्र वरालले पनि बोलेका थिए । २०६६ सालमा स्थापना भएको विद्यालयमा ४५ जिल्लाका ३ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...