प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचार संहिता लागू

काठमाडौं, १४ भदौ/निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार​​बाट आचार संहिता लागू गरेको छ ।आयोगको बुधबार​ बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबार देखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीर कुमार शाहले जानकारी दिए ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ ।आयोगका आयुक्त शाहका अनुसार उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने छ । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसैबिच,​ निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । आयोगले यसअघि पनि आचार संहिता विपरितका काम नगर्न सचेत गराए पनि उल्लघंन गर्ने क्रम नरोकिएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।आयोगले दोस्रो पटक सूचना निकालेर प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको चुनावको लागि आचार संहिता लागु भैसकेको अवस्थामा केही दलले आचार संहिता विपरितका काम गरिरहेकाले उनीहरुलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यस्तै निर्वाचन आचार संहिता विपरित राजनीतिक दल वा उम्मेदवार हुने व्यक्तिले चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, झोला तथा स्टिकरहरु वितरण गरे, तोकिएको आकार भन्दा ठूलो तथा एक भन्दा बढी रंगमा पोस्टर, पम्प्लेट टाँसे वा वितरण गरेको भेटिए आयोगमा जानकारी गराउन पनि सबैसँग आग्रह गरेको    छ ।

कमेन्टहरु
Loading...