प्रदेश र केन्द्रको क्षेत्र निर्धारणः केन्द्रमा १६५ र प्रदेशका ३३० क्षेत्र कास्कीमा कति ?

काठमाडौ, १२ भदौ /निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी थालेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगका अनुसार प्रतिवेदन मंगलबारभित्र सरकारलाई बुझाइसकिनेछ आजको नयाँ पत्रिकामा योगेश ढकालले समाचार लेखेका छन् । आयोगले प्रदेश सभाका लागि ३३० र प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भइरहेको छ ।

आयोगले ७७ वटा जिल्लामा प्रतिनिधिसभाका लागि कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी प्रतिवेदन तयार गरेको छ । संविधानले जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने र बाँकी निर्वाचन क्षेत्र जनसंख्याका आधार निर्धारण हुने व्यवस्था गरेको छ ।

सोहीअनुसार ७७ जिल्लामा ७७ निर्वाचन क्षेत्र कायम भएपछि बाँकी ८८ वटा निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण भएको छ । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात् ३३ वटा भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रदेश नम्बर २ मा ३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र भने प्रदेश नम्बर ६ मा १२ वटा तय गरिएको छ ।

कास्कीमा प्रतिनिधिसभाका लागि ३ वटा क्षेत्र र प्रदेशमा ६ वटा क्षेत्र निधारण गरेको स्रोतको दावी छ ।

 

कमेन्टहरु
Loading...