वार्षिकोत्सवको अवसरमा बृद्धाश्रमलाई सहयोग

पोखरा, ११ भदौ /पोखरा दौतरी दोहोरी साँझको १७ औं वार्षिकोत्सवको अवसरमा बृद्धबृद्धाहरुलाई खाद्यान्न र फलफूल वितरण गरेको छ । पोखरा–लेखनाथ महानगरपालिका वडा–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम, गगनगौंडामा फलफूल, दुई बोरा चामल लगायत नगद ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको विशेष सहयोगमा दोहोरीका सञ्चालक दीपक न्यौपानलेले बृद्धाश्रमका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गरेका थिए । अध्यक्ष लिगलले ओझेलमा परेको बृद्धाश्रमलाई सहयोगको अभाव रहिआएको उल्लेख गरे । ‘बजार एरियाबाट टाढा रहेकोले कतिलाई यो बृद्धाश्रमको बारेमा थाहा नै छैन्,’ उनले भने, ‘यसको प्रचार हुन जरुरत छ । आजसम्म यो बृद्धाश्रम मिडियाको नजरमा परेको छैन् ।’ २०६८ सालबाट सुरु गरिएको बृद्धाश्रममा हाल ४५ जना बृद्धबृद्धाहरु छन् ।

बृद्धबृद्धाहरुलाई खाद्यान्न, पालनपोषणको लागि नेपाल सरकारबाट सहयोग नपाएको गुनासो लिगलले गरे । ‘केही संघसंस्थाबाट सहयोग भएर केही राहत मिलेको छ,’ उनले भने, ‘यो बृद्धाश्रम सुविधासम्पन्न छ । यहाँ प्रत्येक कोठामा एट्याच बाथरुम छ ।’ उनले महिनाको दुइ पटक बृद्धाहरुलाई मेडिकल जाँच गराइदै आएको बताए ।

वार्षिकोत्सवको अवसरमा दोहोरीले विविध साँगीतिक कार्यक्रम राखेको छ । भदौ १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने विशेष साँगीतिक साँझमा प्रजापति पराजुली, पशुपति शर्मा, ज्योति मगर, प्रिति आलेमगर, कुमार पुन, जीवन दाहाल, शंकरविरही गुरुङ, माया गुरुङ र चर्चित मोडल करिश्मा ढकालको प्रस्तुति रहने कार्यक्रम संयोजक निर्मल भण्डारीले बताए ।

यसको अलावा दौतरी दोहोरी स्थापना गर्ने संस्थापकहरु मध्येबाट यामबहादुर गुरुङ, छायामिडियाबाट पत्रकार सन्तोष सुवेदी, दौतरी दोहोरी साँझमा कार्यरत गायिका कमला गैरे, वाद्यवादनतर्फ रामकृष्ण गायक, बारमेनबाट खुम गुरुङ र किचन कुक तर्फ दीपेन्द्र गुरुङलाई सम्मान गरिने सञ्चालक वीरेन्द्र केसीले जानकारी दिए । दोहोरी साँझमा हाल १६ जना कलाकारहरु सहित ३८ जना विभिन्न विभागमा कार्यरत रहेको अर्का सञ्चालक दीपक न्यौपानलेले बताए ।

कमेन्टहरु
Loading...