बृहत सफाइ अभियानको ६५ औं श्रृंखलामा विन्ध्यवासिनीमा सरसफाइ

पोखरा, ११ भदौ / पोखरामा जारी बृहत् सफाइ अभियान पोखरा लेखनाथ महानगरपालिकाका सम्पूर्ण वडा सकेपछि शनिबार ६५ औं श्रृंखलामा विन्ध्यवासिनी मन्दिर पुगेको छ । हप्तामा एक घण्टा, राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ भएको अभियानअन्तर्गत फोहर मैल व्यवस्थापनका लागि मन्दिर परिसरमा उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा करिब १० टन फोहरमैला संकलन गरिएको अभियन्ता ओम पुनले जानकारी दिए । सशस्त्र प्रहरी बल कालिका गणका गणपति भीमबहादुर थापाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेको कार्यक्रममा पोखरा २ का वडा अध्यक्ष रामेश्वर मल्लले उपस्थिति सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ खुवाए ।

कार्यक्रम शुभारम्भमा सशस्त्र प्रहरी बल कालिका गणका नवआगन्तुक गणपति भीमबहादुर थापालाई अभियानका तर्फबाट स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको थियो । अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल कालिकागण, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, सामुदायिक प्रहरी सेवा केन्द्र बगर, इन्द्रेणी एकीकृत विकास केन्द्र, अभियान युवा क्लब, ड्यामसाइड टोल विकास संस्था, भीमकालीपाटन टोल विकास संस्था, नमूना आमा समूह, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, जनप्रतिनिधि, विभिन्न क्षेत्रमा क्रियाशील अभियन्तालगायत स्थानीय वडाबासीले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

यसअघि, सामाजिक अभियन्ता एवं पोखरा ग्रिन मार्ट प्रालिका अध्यक्ष सुजन गुरुङले विन्ध्यवासिनी धामिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई तीन थान आधुनिक कन्टेनर, डस्टबीन हस्तान्तरण गरेका थिए । सफाइ कार्यक्रमका लागि पोखरा लेखनाथ महानगरपालिकाले आवश्यक प्राविधिक सहयोगको व्यवस्था गरेको थियो । ६६ औं हप्ताको सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा हुनेछ ।

कमेन्टहरु
Loading...