बाढीपीडितलाई पोखराका पर्यटन व्यवसायीबाट २१ लाख राहत

प्रदीप पौडेल
पोखरा, ७ भदौ/पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई राहतस्वरुप २१ लाख बढी रकम संकलन गरेका छन्। पोखरा पर्यटन परिषदले गणेशबहादुर भट्टराईको संयोजकत्वमा गठन गरेको समितिले पर्यटन सम्बन्धित संस्था र पर्यटन व्यवसायीबाट रकम संकलन गरेको हो ।

संकलित रकम विभिन्न ठाउँमा वितरण गरिने भएको छ । भदौ ९ मा चितवनको बच्छ्यौली, जितपुर, सुस्ताका महेशपुर र माडीका विपन्न वर्गलाई राहत वितरण गर्ने भएको संयोजक भट्टराईले जानकारी दिए । पहिलो चरणमा चितवनमा वितरण गरिए पनि रकम संकलन गर्दै बर्दिया र रौटहटमा पनि वितरण गर्ने उनले बताए ।

बाढी प्रभावित क्षेत्रका पीडितको मागअनुसार खाद्यान्न, म्याट्रेस, झुल, ब्लान्केट वितरण गर्न लागेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । नाट्टाका अध्यक्ष दिलु गौतम, टानका अध्यक्ष दीपक अधिकारी, होटल संघका अध्यक्ष विकल तुलाचन, परिषदका अध्यक्ष केदार शर्मा, उपाध्यक्ष भरतराज पराजुली, कोषाध्यक्ष रामचन्द्र शर्मा, टेसाका अध्यक्ष नारायणप्रसाद सुवेदीलगायतले सामाजिक उत्तरदायित्वस्वरुप बाढीपीडितको लागि राहत स्वरुप संकलन गरिएको बताए ।

यता, पोखरा घुम्न आउनेमध्ये भारतीय नाकाबाट आउने पर्यटकको संख्या ८० प्रतिशतले घटेको छ । ठाउँ ठाउँमा बिग्रेको राजमार्ग र नाकाका कारण पर्यटक घटेको पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । उनले भने, बेलहिया नाकाबाट बुटवल हुँदै सिद्धार्थ राजमार्गबाट पोखरा आएका पर्यटक पृथ्वीराजमार्ग हुँदै काठमाडौं फर्किने गरेका छन् ।

कमेन्टहरु
Loading...