बाटुलेचौरमा तीज मेलाको तयारी पूरा

पोखरा, ३ भदौ/पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित मैदानमा भदौ ५ देखि ८ गतेसम्म हुने बाटुलेचौर तीज मेलाको तयारी पूरा भएको छ । स्थानीय हिमालय युवा क्लबको व्यवस्थापनमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिए ।

उनका अनुसार स्थानीय सुन्दरफिडमा मुल स्वागत गेट निर्माण गरिएको छ । त्यस्तै बाटुलेचौर क्षेत्रका विभिन्न स्थानमा तुल व्यानरहरु टाँग्ने काम भइरहेको छ । मेलामा अन्तर विद्यालयस्तरीय छात्र तथा छात्रा ह्याण्डबल प्रतियोगिता, विद्यालयस्तरीय लोक तृतय प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, छेलो हान्ने, रस्साकसी, घैंटो फुटाउने, म्यूजिकल चेयर लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।

मेलाको उद्घाटन नेपाली सेनाको पश्चिम पृतनापति उपरथि देवेन्द्रबहादुर मेधासीले गर्ने कार्यक्रम तय भएको छ । मेलामा विभिन्न विभिन्न स्रष्टाहरूलाई समेत सम्मान गर्ने कार्यक्रम छ । हरितालिका तीजको अवसरमा परापूर्वकालदेखि नै बाटुलेचौरको मैदानमा तीज मेला हुँदै आएको छ । राजा कुलमण्डल शाहको पालामा नारीहरुले मोहर भेटी चढाएर तीज गीतमा नृत्य गर्न प्रदर्शन गरेदेखि नै बाटुलेरचौरमा नियमित तीज मेला हुन आएको किम्वदन्ति छ ।

मेलाले बाटुलेचौर क्षेत्रको लोक कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै यहाँका पर्यटकीय गन्तव्य महेन्द्रगुफा, चमेरेगुफा, प्याराग्लाइडिङ्ग स्पट ढिकी डाँडो, धार्मिक धरोधर नौधारे, सिद्ध मन्दिर, कालिका मन्दिर, राजाको पँधेरो, रुन्चे ढुङ्गा लगायतका क्षेत्रको प्रचार प्रचार गरी बाटुलेचौर क्षेत्रलाई ‘केभ साइड’ का रुपमा विकास गर्न थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् । बाटुलेचौर क्षेत्रमा आधा दर्जनभन्दा बढी गुफाहरु छन् । तर यहाँ चमेरे र महेन्द्र गुफाबाहेक अन्य गुफाको प्रचारप्रसार हुन सकेको छैन ।

कमेन्टहरु
Loading...