बागमारामा तिज गीत तथा भलिवल प्रतियोगिता हुने

पोखरा, २ भदौ / नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा खुल्ला तिज गीत एवम् भलिवल प्रतियोगिता हुने भएको छ । आगामी भदौ ६, ७ र ८ गते पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ पानी ट्याङ्की बागमारामा प्रतियोगिता आयोजना गर्न लागिएको बागमारा युवा संगम समूहका अध्यक्ष एवम् प्रतियोगिता संयोजक प्रमोद आचार्यले जानकारी दिए ।

उक्त अवसरमा घैटो फुटाउने, रस्साकसी प्रतियोगिताका साथै हास्य कलाकारको प्रस्तुती लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने उनले बताए ।खुल्ला तिज गीत प्रतियोगितामा सहभागी समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १२ हजार, सात हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।निशुल्क समूह दर्ताको व्यवस्था गरिएको सो प्रतियोगितामा सहभागी समूह मध्येबाट उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य वापत एक÷एक व्यक्तिलाई एक हजार पाँच सय रुपैयाँ, खुल्ला उत्कृष्ट नृत्य गर्नेलाई एक हजार रुपैयाँ र सहभागी प्रत्येक टिमलाई प्रोत्साहन स्वरुप पाँच सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताका सह संयोजक श्रीधर पौडेलले जानकारी दिए ।

त्यस्तै खुल्ला भलिवल प्रतियोगितामा प्रथम द्वितीय र तृतीय बन्ने समूहलाई क्रमशः ४० हजार , २५ हजार र तीन हजार रुपैयाँ प्रदान गरिने उनले बताए । खुल्ला भलिवल प्रतियोगिताका लागि समूह दर्ताका लागि तीन हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।प्रतियोगिता अन्तर्गत तिज गीतमा २० वटा समूह र भलिवलमा १५ वटा समूह सहभागी बन्ने विश्वास लिइएको छ ।

कमेन्टहरु
Loading...