जेइची र खुर्सिदको नेपाल भ्रमण सरकारको प्रमुख कामको सूचीमा

३१ असार, काठमाडौं । सरकारले असार महिनामा सम्पादित प्रमुख कामको सूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सरकारको कामहरुको सूचीको पहिलो नम्बरमा आर्थिक वर्ष २०७०।७१ को बजेट सार्वजनिकलाई उल्लेख गरिएको छ ।

सरकारले आइतबार मात्र ५ खर्ब १७ अर्ब २४ करोडको वजेट सार्वजनिक गरेको थियो । समयमै बजेट जारी भएकाले मुलुकको आर्थिक विकासमा सकरात्मक प्रभाव पर्ने विश्वास गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

जनकपुर चरोट कारखाना बन्द गर्ने मन्त्रिरिषद निर्णयदेखि चिनियाँ स्टेट काउन्सिलर याङ्ग जेइची र भारतका विदेशमन्त्री सलमान खुर्सिदले नेपालको भ्रमणलाई पनि सरकारले गरेका महत्वपूर्ण कामको सूचीमा राखिएको छ ।

यस्तो छ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सरकारद्वारा असार महिनामा सम्पादित प्रमुख कामहरुको सूची ः

१. सरकारले आ.व. २०७०।७१ का लागि रु. ५१७ अर्ब २४ करोडको वजेट, आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति र मन्त्रालयगत प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बजेटले राष्ट्रसेवक कर्मचारीहरुको तलब १८ प्रतिशतले बृद्धि गरी थप एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । समयमै बजेट जारी भएकाले मुलुकको आर्थिक विकासमा सकरात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

२. राष्ट्रिय योजना आयोगले तयार गरेको र राष्ट्रिय विकास परिषद्बाट पारित भएको आउँदो तीन वर्षको आवधिक योजनाको आधारपत्रलाई सरकारले स्वीकृत गरेको छ ।

३. केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा साविकमा प्रतिवर्ष रु. ५ करोड राख्ने गरिएकोमा सो रकमलाई रु. १० करोड पुर्‍याउने र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ४० करोडसम्म पुर्‍याउने निर्णय गरेको छ ।

४. मन्त्रिपरिषद्बाट कमलरी मुक्ति घोषणा गर्ने र अभियानकै रुपमा कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । कमलरी श्रमिक राखे बापत कसैले कुनै किसिमको रकम लेनदेन गरेको रहेछ भने त्यस्तो रकम स्वतः निस्कृय हुने र कमलरी वा निजको परिवारले सो रकम फिर्ता गर्नु नपर्ने निर्णय समेत भएको छ ।

५. लामो समयदेखि उत्पादन बन्द भई बिनाकाम बसिरहेका जनकपुर चरोट कारखाना लिमिटेडमा कार्यरत ७५८ जना कर्मचारीलाई उपदान सहितको अवकाश दिई सम्पूर्ण दायित्व फरफारक गर्ने कार्य अगाडी बढेको छ ।

६. रोडा, ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन्, संकलन, आन्तरिक आपूर्ति र निकासीका सम्बन्धमा सरकारले समुचित प्रबन्ध मिलाएको छ ।

७. लामो सयमदेखि अनिणिर्त अवस्थामा रहेको क्यासिनो सम्बन्धी नियमावली जारी भएको छ । यसबाट नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाउनुका साथै सरकारलाई प्राप्त हुने राजश्व बृद्धि गरिएको छ ।

८. माओवादी सेनाका लडाकुहरुले प्रयोग गरेका र हाल खाली भएका शिविरहरु उपयुक्त निकायहरुलाई प्रयोग गर्न दिने निर्णय भएको छ ।

९. मन्त्रिपरिषद् बैठकबाट महिला उद्यमशीलता विकास केन्द्र संचालन कार्यविधि, बाली तथा पशुधन बीमाको पि्रमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि र प्रविधि विकास कोष कार्यविधि पारित भएको छ ।

१०. सशस्त्र प्रहरी बललाई समयसापेक्ष रुपमा सबल बनाउन ३२४३ पदहरुको दरबन्दी थप भएको छ ।

११. चीनका स्टेट काउन्सिलर याङ्ग जेइची र भारतका विदेशमन्त्री सलमान खुर्सिदले नेपालको भ्रमण गर्नुभएको छ ।

१२. संयुक्त राष्ट्र संघको आहृवानमा शान्ति स्थापनार्थ नेपाली सेनाको फैाजलाई सिरियामा तैनाथ गराउन स्वीकृति दिइएको छ ।

१३. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा अवकाश प्राप्त मुख्य सचिव, सचिव र विशिष्ट श्रेणीका अधिकारीहरुको सम्मेलन आयोजना गरियो । कार्यक्रमबाट सरकारलाई सुशासनका क्षेत्रमा थुपै्र र उपयोगी सुझावहरु प्राप्त भएका छन् ।

१४. सार्क हस्तकला विकास केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।

१५. लामो समय देखि विना काम दायित्व वहन गरि रहेका कर्मचारीहरुलाई अवकास दिई पशु आहार उत्पादन विकास समिति विघटन गरेको छ ।

मितिः २०७०/३/३१

cp. onlinekhabar.com

कमेन्टहरु
Loading...