३३ दलीय मोर्चा विना नेकपा-माओवादी वार्तामा नबस्ने

३१ असार, काठमाडौं । आफ्नो नेतृत्वको ३३ दलीय मोर्चाको सहभागिता विना नेकपा-माओवादी सरकार र राजनीतिक समितिसँग वार्तामा नबस्ने भएको छ । ३३ दलीय मोर्चाको सोमबार बसेको बैठकमा मोर्चामा आवद्ध दलहरुले आफूहरुलाई बाइपास गरेर वार्ता टोली गठन गरेको भन्दै माओवादी नेतृत्वको आलोचना गरेका छन् ।

बैद्यसहितका नेताहरुले प्राविधिक कमजोरी भएको भन्दै अब ३३ दलीय मोर्चा विना वार्तामा नबस्ने प्रतिवद्धता जनाएका छन् । ‘अन्य दलहरुलाई वाइपास गरेर गएकोमा आलोचना भयो । चार दलले अरु दललाई अपनाएको शैली उहाँहरुले अपनाउनु भो भन्ने हामीले भन्यौं’ एक नेताले अनलाइनखबरसँग भने-’ उहाँहरुले कमजोरी भएको स्वीकार गर्नु भो ।’

बैठकले कूटनीतिक नियोगहरुसँग सामूहिक छलफल गर्ने निर्णय समेत गरेको छ । यसको समय भने तय भएको छैन । ‘हामीलाई चुनावमा जानु पर्‍यो भनेर आग्रह गर्दै आउनु भएको छ । तर, धेरै खालका विचार समूह भएकाले सबैको आ-आफ्नै चिन्ता होलान्’ एक नेताले भने-’हामी आफ्ना कुरा प्रष्ट पाछौं र चार दललाई मनाएर दलीय सरकार बनाउन सक्छौं भने चुनावमा जान तयार हुन्छौं भन्छौं ।’

बैठकले आगामी साउन ८ गते यथास्थितिमा घोषणा गरिएको संविधानसभाको निर्वाचन हुन नदिने घोषणसभा गर्ने निर्णय समेत गरेको छ । त्यसअघि ६ गते जनवर्गिय संगठनहरुको भेला बोलाइएको छ । यथास्थितिमा घोषणा भएको संबिधानसभाको निर्वाचनलाई हुन नदिने र जवरजस्ती निर्वाचन गर्न खोजिएमा त्यसको शसक्त प्रतिरोध गर्ने ३३ दलको निर्णय छ ।

३३ दलीय मोर्चाको मोर्चा समिति बनाई आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय भएको मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...