‘कलेज सम्बन्धनमा २० करोडसम्म लेनदेन’

विराटनगर, असार ३१ (सेतोपाटी)– नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले पूर्वाञ्चल विश्वविद्यालय भ्रष्टाचारले अस्तव्यस्त भएको बताएका छन् । उनले कलेजलाई सम्बन्धन दिने क्रममा ठूलो आर्थिक चलखेल हुने गरेको खुलासा गरे।

‘मेडिकल कलेजलाई सम्बन्धन दिँदा ५ देखि २० करोडसम्म उठेको भेटाएको छु,’ सोमबार आयोजित एक अन्तक्र्रियामा रेग्मीले भने, ‘सम्बन्धन दिने क्रममा पूरै बार्गेनिङ चलिरहेको रहेछ ।’ कलेजलाई सम्बन्धन दिँदा पूर्वाञ्चल विश्वविद्यालयलाई आउने ६ करोड रकम पनि कर्मचारीले अपचलन गरेको भेटिएको उनले बताए।

‘मेडिकल बाहेकका कलेजलाई सम्बन्धन दिँदा ७ लाखदेखि ३० लाखसम्म कर्मचारीले बुझ्दा रहेछन्,’ रेग्मीले भने । पूर्वाञ्चल विश्विद्यालयको आर्थिक अनियमितताबारे आफूले बुझ्दा भ्रष्टाचारबाहेक केही नभेटाएको रेग्मीले बताए।

अहिले नयाँ सम्बन्धनका लागि ६ सय आवेदन परेका छन् । तीमध्ये कतिपय कलेजलाई सम्भाव्यता अध्ययनै नगरी पठनपाठन गर्न छुट दिँदा विश्वविद्यालय अधिकारीले घोटाला गरेको आरोप लागिरहेका बेला रेग्मीले यस्तो बताएका हुन्।

‘करोडौं कुम्ल्याएर ६ सय कलेजलाई अध्यापन अनुमति दिन लागिएको छ,’ रेग्मीले भने, ‘घोटाला हुने गरेको थाहा पाएपछि त्यसलाई रोक्ने प्रयास गरिरहेका छौं, तर सरकारले नै चासो दिएन भने हाम्रो केही लाग्दैन ।’ उनका अनुसार विश्वविद्यालयमा हालसालै १६ करोडको सामग्री खरिद गर्दा आधाजसो भ्रष्टाचार भएको छ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति रामवतार यादव, वर्तमान उपकुलपति महेश्वरमान श्रेष्ठ र रजिस्ट्रार निरोज पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अध्यक्ष रेग्मीले कलेजलाई अध्यापन अनुमति दिने क्रममा कर्मचारीबीच पैसा खाने लडाइँ नै चल्ने गरेको बताए।

– See more at: http://setopati.com/raajneeti/2443/#sthash.C7yeVLCz.dpuf

कमेन्टहरु
Loading...