स्वाइनफ्लुबाट पोखरामा ३ को मृत्यु, देश भर ६ जनाको मृत्यु, सर्वसाधारणमा त्रास

काठमाडौ, २० साउन /स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधबारसम्म पोखराका २९ वर्षीय एक पुरुष र ३६ र ४८ वर्षका दुई महिलाको मृत्यु भएको छ । बुधवारसम्म देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएकोमा ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै तीनजना रहेको जानकारी केन्द्रबाट आएको उनले बताए । आजको कान्तिपुर दैनिकमा लालप्रसाद शर्मा, प्रतीक्षा काफ्ले र लीला बरालले समाचार लेखेका छन् ।

‘अहिले पनि केही बिरामी पोखराका क्षेत्रीय, मनिपाल र गण्डकी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन,’ उनले भने, ‘केही बिरामीको पीसीआर परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आएपछि कतिलाई स्वाइनफ्लु लागेको भन्ने यकिन हुन्छ ।’ स्वाइनफ्लुको पुष्टी नभएसम्म उपचाररत बिरामीको संख्या भने बताउन नमिल्ने उनले बताए ।

स्वाइनफ्लु देखिएपछि महानगरमा चार स्वास्थ्यकर्मीको टीम खटाइएको छ । टीमले सचेतनामुलक माइकिङ, पर्चा, पम्प्लेटिङ तथा स्थानीय संचारमाध्ययममा सन्देश प्रकाशन र प्रसारण गर्नेछ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आईरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

बच्चामा पखाला पनि लाग्न सक्छ । ‘सामान्य रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक रामरिझन यादवले भने, ‘आराम गर्ने, भीडभाडमा नजाने, तातोपानी, झोलिलो र पोसिलो चिज खानुपर्छ ।’ च्याप्दै गएमा स्वास्थ्य संस्थामा गएर जचाउनुपर्ने भन्दै उनले मान्छेबाट मान्छेमा सर्न थालेमा जोखिम हुने तर अहिले त्यो अवस्था नआएको बताए ।

कमेन्टहरु
Loading...