पोखरामा कर्पोरेट सेभेन ए साइडको तयारी

पोखरा, १९ साउन/नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनको आयोजनामा पोखरा रंगशालामा साउन २१ देखि हुने कर्पोरेट सेभेन ए साइड फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फेडेरेशनले बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको हो ।

साउन २१ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगी टोलीहरुको उत्साहजनक सहभागतिा रहेको प्रतियोगिताका संयोजक सुनिल जिसीले जानकारी दिए । प्रतियोगितामा विजेता टोलीले रु ५० हजार र उपविजेतालाई ३० हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रम संयोजक समेत रहेका जिसीकोे हजुरबुवाको स्मृतिमा आयोजित प्रतियोगिताका लागि प्रथम पुरस्कार समेत जिसीले प्रायोजन गरेका छन् ।

फेडेरेशनका अध्यक्ष नविन पुनले कर्पोरेट हाउस बीच सुमधुर सम्बन्ध कायम राख्दै खेलकुदको माध्यम बाट मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पोखरामा फुटबलको फरक स्वादका लागि गर्न लागिएको प्रतियोतिगामा फुटबल प्रेमी दर्शकहरुका लागि निशुल्क प्रबेशको ब्यवस्था गरिएको छ ।

पोखरा रंगशालाको फुटबल मैदानमा दैनिक ६ वटा खेलहरु हुनेछन् । उद्घाटन खेल ९ बजेबाट शुरु हुने छ । अन्य दिनको खेल भने बिहान ८ बजेबाट शुरु हुने संयोजक जिसीले बताए । यसअघि फेडेरेशनले पोखरा र काठमाडौंमा पेप्सी अन्तराष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिताको दुई संस्करण आयोजना गरिसकेको छ । आगामी दिनमा पनि अन्तराष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने फेडेरेशनले योजना बनाएको छ ।

कमेन्टहरु
Loading...