कोशेली तीजगीत प्रतियोगिताको तयारी तीव्र

पोखरा, १९ भदौ/हिन्दू नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर रेडियो सुनौलो एफएम १०२.२ मेगाहर्जले शुभकामना आदान–प्रदान एवं कोसेली खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । रेडियो सुनौलो एफएम २०६५ सालमा महिलाहरुद्वारा संचालित पोखराको पहिलो सामुदायिक रेडियो हो । रेडियोले यसअघिका वर्षमा पनि तीजगीत प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा पोखराका उद्योग, व्यसाय, संघ–संस्था, राजनीति, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने रेडियोका प्रमुख कार्यकारी अधिकृत मोतीसागर अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।

आगामी भदौ ६ गते मंगलबार हुने तीजगीत प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन निःशुल्क रुपमा रेडियोको कार्यालयका प्राप्त गर्न सकिने कार्यकारी प्रमुख अधिकारीले बताए । आवेदन आगामी भदौ ५ गते सोमबारसम्म भर्न सकिनेछ । प्रतियोगितामा करिब २० टीम सहभागी हुने रेडियोको अपेक्षा छ ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप र समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यकारी निर्देशक गंगाधर पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् । प्रतियोगिताको सुनौलो रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले ११ हजार १११, द्वितीय हुनेले ९ हजार १११, तृतीयले ७ हजार १११ र सान्त्वना हुनेले ४ हजार १११ र उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिनेछ । उक्त अवसरमा वरिष्ठ लोकदोहोरी गायक तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली र शंकर सुनारका साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ । प्रतियोगिताका लागि कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोशेली शुद्ध तोरीको तेलले मुख्य प्रायोजना गरेको छ ।

कमेन्टहरु
Loading...