बोलबममा गाउँगाउँबाट भक्तजन

पोखरा, १६ साउन /पोखराको केदारेश्वर मन्दिरमा डेढ दशकदेखि सुरु बोलबम जलयात्रा कार्यक्रमअन्तर्गत यस वर्षको साउनमा पनि भक्तजनको उत्साहजनक भीड लागेको छ । जारी संस्करणमा गाउँ गाउँबाट भक्तजन केदारेश्वर मन्दिर दर्शनार्थ आएका छन् ।

साउनको तेस्रो सोमबार मन्दिर परिसरमा भक्तजनको घुइँचोले आयोजकलाई व्यवस्थापनमा हम्मे–हम्मे परेको थियो । केटाकेटी, युवायुती र वृद्धवृद्धा भगवान शिवको दर्शनका लागि हातमा जल बोकेर लामो समयदेखि पालो कुरेर बसेका थिए । पूजाआजामा सहजता लागि आयोजक केदारेश्वर महादेवमणि सेवाश्रम समितिले मन्दिरका चारैदिशाका ढोका बिहानैदेखि खुलाएको थियो ।

भक्तजन दर्शनका लागि आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए । मन्दिर अलावा सेती नदीबाट जल उठाउन बगरस्थित गाईघाटमा पनि भक्तजनको उस्तै घुइँचो थियो । साउन महिना भगवान शिवको पूजाआराधना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

लोकदोहोरी गायक प्रजापति पराजुलीलगायत सम्मिलित भजन टोलीले बगरदेखि केदारेश्वरसम्म पंचेबाजाका साथ भजन कीर्तन गरेको थियो । भजन कीर्तनमा विभिन्न भजन टोली संलग्न रहेको मन्दिरमा सचिव खीमबहादुर पहारीले बताए ।
बोलबम ¥यालीमा सहभागीलाई सहजताका लागि नगरका विभिन्न ठाउँमा पानी, सर्वत, दही, जुस दिएर सहयोग गर्नेहरु पनि उत्तिकै भेटिन्थे ।

केदारेश्वरमा भक्तजनलाई मारबाडी युवा मंचले प्रसादको व्यवस्था मिलाएको मंचका अध्यक्ष सन्तोषकुमार अग्रवालले बताए । बोलबम संयोजक शंकर खरालले भोकै ब्रत बसेका भक्तजनलाई सहजताको लागि प्रसाद व्यवस्था मिलाइएको बताए । दिउँसो अबेरसम्म मन्दिरमा भक्तजन शिवलिंगमा जल चढाउनुका साथै भजनमा रमाएका थिए । साउनमा अब २ सोमबार बाँकी छन् । साउनमा पाँच सोमबार पर्नुलाई शुभ मानिन्छ ।

कमेन्टहरु
Loading...