सोमबार देखि पोखरामा ‘मेगा एजुकेशन फेयर’

पोखरा, १५ साउन /दोस्रो सँस्करणको ‘मेगा एजुकेशन फेयर’ सोमबारदेखि पोखरामा शुरु हुँदैछ । पोखरा सभागृहमा हुने यो शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक ‘वान अप प्रालि’ले जनाएको छ । शैक्षिक मेलामा सहभागिताका लागि प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ ।

सोमबार विहान १० बजेदेखि पोखरा सभागृहमा यो मेला शुरु हुन लागेको हो । मेलाकै लागि भनेर यतिबेला पोखरा सभागृहलाई भव्य रुपमा सिंगारिएको छ । उद्घाटन समारोह अझै विशेष हुने आयोजकले बताएको छ । पोखरा र आसपासका ‘प्लस टु’ उत्तिर्ण विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो शैक्षिक मेलाको आयोजना भएको हो । मेलामा सहभागी भएर विद्यार्थी र अभिभावकहरुले वैदेशिक शिक्षा र त्यसको लागि आवश्यक ‘प्रोसेसिङ’को बारेमा जानकारी लिन सक्नेछन् ।

‘एउटै स्थानमा धेरैवटा अनुभवी शैक्षिक परामर्श केन्द्र र विदेशी कलेज तथा यूनिभर्सिटीको प्रतिनीधिहरुबाट जानकारी लिन पाउने अवसर हुने भएकोले विद्यार्थीहरुका लागि यो निकै लाभदायक छ ।’ आयोजक ‘वानअप’का कार्यकारी अधिकृत रविशंकर झाले भने–‘त्यसैले यो मौका नगुमाउन हामी सबै विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दछौँ ।’

ब्रिटिश काउन्सिलको प्रस्तुतीमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका ३ दशकदेखि पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा जानकारी लिन सक्ने भएकोले विद्यार्थी र अभिभावकहरुले पनि निकै चासो दिएको आयोजकले बताएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, न्युजील्याण्ड, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागीता हुने आयोजकले बताएको छ ।

सोमबारदेखि शुरु हुने यो मेला बुधबारसम्म चल्नेछ । मेलामा ३० वटा स्टलहरुले विद्यार्थी र अभिभावकहरुलाई निशुल्क रुपमा वैदेशिक अध्ययन र त्यसका लागि आवश्यक ‘प्रोसेसिङ’को बारेमा बताउनेछन् । त्यो सँगै मेलामा सहभागीता जनाउनेहरुका लागि आयोजकले हात खाली नजाने उपहार योजना पनि सार्वजनिक गरेको छ । त्यस्तै ३ दिने मेला अवधीभर सहभागीता जनाउनेहरुमध्येबाट लक्की ड्र मार्फत एक जनाले उपहार स्वरुप ल्यापटप पनि प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...