अफगानिस्तानमा २० वर्ष कैद सजाय पाएका नेपालीले क्षमादान पाए

३० असार, काठमाडौं । अफगानिस्तानको अदालतले २० वर्ष कैद सजाय एक नेपालीले त्यहाँका राष्ट्रपति हमिद कारजाईबाट क्षमादान पाएका छन् । राष्ट्रपतिले क्षमादान दिएपछि तनहुँ बन्दिपुरका तिलकबहादुर थापा मगर कारागार मुक्त भएको पाकिस्तानस्थित नेपाली दूताबासले जनाएको छ ।

थापा कावुलबाट काठमाडौं प्रस्थान गरिसकेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तिलकबहादुरको दण्ड सजाय माफीमिनाह गरिदिन आग्रह गर्दै तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगान राष्ट्रपतिलाई पत्र पठाउनु भएको थियो । प्रधानमन्त्रीको पत्र अफगानिस्तानको मामिला हेर्ने राजदूत पौडेलले गत मे ४ मा कारजाईसमक्ष पेश गर्नु भएको थियो ।

थापा १९ अपि्रल २०११ हेलमण्ड प्रान्तस्थित कार्यरत क्याम्पबाट पक्राउ परेका थिए । उनीसहित एक पाकिस्तानी र दुई अफगान नागरिकविरुद्ध पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत सूचना चुहाएको आरोप लागेको थियो ।

सुरुमा हेलमण्डको प्रान्तीय अदालतले १६ वर्षको कैद सजाय सुनाएको थियो । तर, त्यहाँको सर्वोच्च अदालतले थप ४ वर्ष थपेर २० वर्ष कैद सजाय सुनाएको थियो ।

 

कमेन्टहरु
Loading...