स्पोर्टस् अवार्डलाई सहारा यूकेको सहयोग

पोखरा, ३१ असार/दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेको सहयोग प्राप्त भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा आगामी साउन २१ गते हुने पोखरा स्पोटर्स अवार्ड सफलताको कामनाका साथ क्लबले आर्थिक सहयोग गरेको हो ।

आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका तर्फबाट सल्लाहकार भुपालजंग कुँवरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रञ्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण गरे । यसअघि नै एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले पोखरा स्पोर्टस् अवार्डका लागि ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिसकेका छन् ।

पोखराकै प्रतिष्ठित कार्यक्रमका लागि आर्थिक सहयोग आउने क्रम सुरु भएको कोषाध्यक्ष विजय नेपालले जानकारी दिए । अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष दिननाथ बराल उपसंयोजक रहेको १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिसकेको छ । नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजकत्वमा सल्लाहकार समिति, समितिमा मञ्चका सदस्य ५५ खेलमा पत्रकाहरु, नेपाल पत्रकार महासंघ, कास्की कार्यसमिति पदाधिकारी, सदस्यहरु, जिल्ला स्थित अस्तित्वमा रहेका सबै खेलसंग सम्बन्धित संघसंस्थाहरु, सहारा क्लब लगायत आयोजक समिति सदस्य छन् ।

गत वर्ष जेठ १ गते सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

कमेन्टहरु
Loading...