सस्तो बजारमा लगाइएको ताला विना शर्त खोल्न दलको आव्हान

पोखरा, २१ असार /कास्कीमा सकृय पाँच राजनीतिक दलहरुले सस्तो बजारमा लगाइएको ताला विना शर्त खोलेर वार्ताको वातावरण सृजना गर्न स्थानीय प्रशासन र सम्बन्धित पक्षलाई आव्हान गरेका छन् । पोखरा सस्तो बजार व्यवस्थापन समितिले पोखरामा आयोजना गरेको एक कार्यक्रममा साना व्यवसायीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुले यस्तो आव्हान गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी एवं कास्की जिल्ला जनसरकार प्रमुख नन्दप्रसाद तिवारी “जगन”ले विना शर्त तालाबन्दी खोलिनुपर्ने, जग्गा भाडामा दिने नेपाल वायु
सेवा निगमको निर्णय खारेज हुनुपर्ने, नेपाल वायु सेवा निगमले सरकारले तय गरेको भाडा दरमा सहमति गर्ने गरी प्रत्यक्ष वार्ता गरी तोकिएको भाडा तिर्न पोखरा सस्तो बजारका साना व्यवसायीहरु तयार रहेको बताए ।

नयाँ शक्ति पार्टी कास्कीका संयोजक हेमबहादुर थापा “आमोद”ले आफ्ना बाब्आमाले साना व्यापारीका रुपमा काँक्रो बेचेर र टुसा बेचेर कास्कीको प्रमुख जिल्ला अधिकारी बनाउन सफल भएको कुरा सम्झाउँदै यी साना व्यापारीहरुको समस्या आफ्नै बाबुआमाले भोगेको समस्या जस्तै सम्झेर समाधान गर्नतर्फ पहल गरिदिन कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ
अधिकारीलाई आग्रह गरे ।

मोहन वैद्य नेतृत्वको नेकपा –क्रान्तिकारी माओवादी) कास्कीका सेक्रेटरी भीमबहादुर श्रीष र संघीय समाजवादी फोरम कास्कीका सहसचिव रामजी चर्माकार लगायतका वक्ताहरुले पोखरा सस्तो बजारमा आवद्ध भएर साना व्यवसायीका रुपमा
कारोवार गरिरहेका व्यवसायीहरुको गरेर खान पाउनुपर्ने अधिकार खोसिएकोप्रति आपत्ति प्रकट गर्दै यो समस्या समाधान गर्नका लागि सम्बन्धित निकायहरुले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...