नेपालको व्यापार घाटा साढे ४ खर्ब पुग्यो

२७ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा २४ दशमलव ५ प्रतिशतले बढेर ४ खर्ब ३८ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले मात्र बढेको थियो । समीक्षा अवधिमा भारतसँगको व्यापार घाटा २७ दशमलव ४ प्रतिशतको उच्च दरले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा १३ प्रतिशतले मात्र बढेको थियो । अन्य मुलुकसँगको घाटा पनि गत वर्षको तुलनामा बढेको छ ।

जेठ महिनासम्म नेपालबाट कुल वस्तु निर्यात ४ प्रतिशतले बढेर ६९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात २१ दशमलव २ प्रतिशतले बढेर ५ खर्ब ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । समीक्षा अवधिमा भारततर्फको आयात उच्च दरले बढेका कारण कुल वस्तु आयात उच्च रहन गएको हो ।

कुलवस्तु आयातमध्ये भारततर्फको आयात २३ दशमलव ३ प्रतिशतको उच्च दरले बढेको छ । गत वर्षको सोही अवधिमा भारततर्फको आयात १३ दशमलव ६ प्रतिशतले मात्र बढेको थियो । त्यस्तै, अन्य मुलुकतर्फको आयातमा भने गत वर्षको तुलनामा कम वृद्धि भएको छ ।

भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस्, सिमेन्ट, चामल तथा अन्य मेशिनरी तथा पार्टस् लगायतका वस्तुहरुको आयात बढेको छ भने अन्य मुलुकबाट विशेषगरी सञ्चार उपकरणहरु, चाँदी, तयारी पोशाक, पाइप तथा पाइप फिटिङ्ग र रासायनिक मललगायतको आयात बढेको छ ।

कमेन्टहरु
Loading...