फेवातालमाथि रोट्रयाक्ट क्लबको चार्टर

पोखरा, १७ असार /पोखराको फेवातालमा डुंगामाथि रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडले शुक्रबार चार्टर सेरोमनी सम्पन्न गर्दै संस्थापक कार्यसमितिको पदस्थापन समेत गरेको छ । कार्यक्रमको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेतृत्वको कुशलतामा नै समाज र विश्वको प्रगति अडिएकाले नेतृत्व विकासमा आजका युवाहरुले मेहेनत गर्नुपर्ने बताए ।

त्यसै गरि क्लवको मातृ क्लव रोटरी क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका सभापति सुन्दर कुमार श्रेष्ठले तालको संरक्षण नै पोखराको विकासको सबैभन्दा प्रमुख एजेण्डा भएकाले पोखराका युवाहरुको ध्यान त्यस तर्फ जानु अत्यावश्यक रहेको औंल्याए ।

कार्यक्रमको उद्घाटनका अवसरमा प्रमुख अतिथि अधिकारी तथा सभापति श्रेष्ठले फेवातालमा एक हजार वटा माछाको भुरा छाडेका थिए । कार्यक्रममा क्लवको स्मारिका “पाइला” को प्रथम अंकको पनि विमोचन भएको थियो । त्यसै गरी कार्यक्रमका विशेष आतिथि रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानका प्रमुख डिआरआर शुसिल कार्कीले क्लवको संस्थापक बोर्डको पदस्थापन तथा सपथ ग्रहण समेत गराएका थिए । सुवास मल्लको नेतृत्वमा रहेको बोर्डमा १५ जना तथा साधारण सदस्यहरुमा ६३ जना रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मातृ क्लवका तर्फबाट रोट्रयाक्ट संयोजक अर्जुन खनालले क्लवका गतिविधीहरु मार्फत क्लवले आफुलाई प्रमाणित गरेर देखाउनुपर्ने उल्लेख गरे । आफ्नो क्लवले लेकसाइडको भावनाको प्रतिनिधित्व गर्ने बताउँदै कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले ताललाई नयाँ सोचका साथ पनि प्रयोग गर्न सकिन्छ भनेर कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

फेवातालको हल्लनचोक स्विमिङ्ग पुल घाटमा सम्पन्न कार्यक्रममा चारवटा पेडल बोट र बीसवटा सामान्य डुंगामा गरी एक सय जनाले सहभागिता जनाएका थिए । पेडल बोटहरुलाई स्टेजका रुपमा प्रयोग गरिएको थियो भने सामान्य डुंगाहरुमा सहभागीहरु बस्ने व्यवस्था मिलाइएको थियो ।

कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय वैदामबाट सुरक्षा प्रबन्ध मिलाइएको थियो भने सशस्त्र प्रहरी, कालिका गणको टोली पनि मोटरबोट सहित तैनाथ रहेको क्लवका अध्यक्ष सुवास मल्लले बताए । कार्यक्रममा चरक मेमोरियल अस्पतालले आकस्मिक उपचार टोली समेत व्यवस्था गरेको थियो ।

कमेन्टहरु
Loading...