बम फ्याँक्ने बहादुर प्रहरीले ‘दर्जन बढीको ज्यान जोगाए’, पुरस्कृत गर्ने गृहमन्त्री घोषणा

काठमाडौं, १४ असार/दोस्रो चरणको निर्वाचनमा दाङको एक मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन्। आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा मिल्काउँदा मतदान परिसरमा कुनै क्षति हुन पाएन।

यो घटना तुलसीपुर ३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको हो। बिहान ७ बजे मतदान सुरु भएको दुई घन्टामै आक्रमणकारीहरुले उक्त बुथमा हमला गरेको दाङका एसपी धीरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार साढे ९ बजेतिर मोटरसाइकलमा आएका दुई आक्रमणकारी मतदान केन्द्र रहेको स्कुलको पर्खालबाहिरबाट प्रहरीलाई लक्ष्य गर्दै सुतली बम फ्याँकेका थिए। त्यसरी बम फ्याँकेको देख्नासाथ मतदान केन्द्रमै खटिएका प्रहरी हवल्दार रानाले फुर्तीका साथ त्यसलाई च्याप्प हत्केलामा समाते र मतदान केन्द्रभन्दा ५० मिटरजति पर हुत्याइदिए। प्रहरी हवल्दार रानाले चनाखो भएर समयमै यति तदारुकता देखाएकाले मतदान केन्द्रमा कुनै क्षति हुन पाएन। यो घटनामा मानवीय क्षति पनि नभएको एसपी सिंहले बताए।

‘हवल्दार रानाले बम हातमा समात्न नपाएर भुइँमा खसेको भए नजिकै रहेका प्रहरी र मतदान गर्न आएका सर्वसाधारणमाथि केही क्षति हुन सक्थ्यो,’ उनले भने, ‘उनले मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी र छेउछाउमा रहेका एक दर्जनभन्दा बढीको ज्यान बचाए।’

मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी करिब २५ जना सुरक्षाकर्मी खटिएका थिए। जोखिम मोल्दै बम समात्ने प्रहरी चुनावका लागि काठमाडौंबाट खटिएका हुन्। उनी प्रहरी पहरा गण काठमाडौंबाट खटिएर गएको एसपी सिंहले जानकारी दिए। मतदान केन्द्रमा बम फाल्नेको पहिचान हुन सकेको छैन। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ता रहेको अनुमान गरेको छ।

बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् ।  मन्त्री शर्माले रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै रानालाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।

 

कमेन्टहरु
Loading...