कनफेडेरेशन कपको सेमिफाइनलमा चिली र पोर्चुगल भिड्ने

एजेन्सी, १२ असार /चिली फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पोर्चुगलसँग भेट पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बराबरी गरे पनि चिलीले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गर्दै पोर्चुगलको भेट पक्का गरेका हुन् ।

दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिएको हो । चिलीका लागि मार्टिन रोड्रिग्वेज र अस्ट्रेलियाका लागि जेम्स ट्रोइजीले गोल गरे । खेलमा अग्रता अस्ट्रेलियाले लिएको थियो । ४२ औं मिनेटमा ट्रोइजीले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० ले पछि परेको चिलीका लागि ६७ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गरे ।

बराबरीबाट जोडेको एक अंक नै चिलीका लागि सेमिफाइनल यात्रा तय गर्न पर्याप्त भयो । समूह विजेता बनेको जर्मनीको तीन खेलबाट सात तथा उपविजेता बनेको चिलीको पाँच अंक भयो । अस्ट्रेलिया र क्यामरुन भने समूह चरणबाटै बाहिरिएका छन् । पोर्चुगल र मेक्सिको यसअघि नै अन्तिम चारमा पुगेकाले सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि चिलीले अब पोर्चुगलसँग खेल्नेछ ।

कमेन्टहरु
Loading...