पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्स

काठमाडौ, ४ असार /सरकारले यसै सातादेखि पोखरामा पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यका बाहिर पहिलोपटक पोखरामा वितरण गर्ने तयारी थालेको हो । पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ ।

यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानकारी दिए । विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक भट्टराईले बताए ।

‘असारको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारीमा जुटेका छौं,’ श्रेष्ठले भने, ‘योजना अनुरुप समयमै तयारी सकियो भने चाँडै मोफसलका धेरै स्थानमा स्मार्ट लाइसेन्स बाँड्छौं ।’

विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । सोमबार स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रसास सेक्युरेटी प्रिन्टर्सको टोली पोखरा जाँदैछ । मंगलबारबाट स्मार्ट लाइसेन्स वितरणका लागि प्रक्रिया थाल्ने गरी काम गरिने भट्टराईले बताए ।

‘पोखरापछि यो सेवा अन्य क्षेत्रमा सुरु गर्ने तयारीमा छौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर जानैपर्छ । ढिला गर्ने पक्षमा हामी छैनौं ।’ उनीहरु आएर पोखरामा लाइसेन्सको सर्भर व्यवस्थापन गर्नेछन् भने अन्य प्राविधिक परामर्श पनि दिनेछन् । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरेको छ ।

के हो स्मार्ट लाइसेन्स ?

स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले यसलाई कुनै हानि पुर्‍याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।

यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सिमकार्डमा जस्तै धातुको चीप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।

धातुको चिपमा भएका डाटालाई लिंकेज र डाटा रिडर मेसिनमा राखेर हेर्न सकिन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेपछि त्यसैमा रकेर्ड राखिन्छ । यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ ।

स्मार्ट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औंठाछाप र बायोमेट्रिक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिन्छ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाइसेन्स प्रयोग गर्न नसक्ने यातायात व्यवस्था विभागको भनाइ छ । साभार ः अनलाइन खबरबाट

कमेन्टहरु
Loading...