पोखरा उपत्यका बृहत् सफाइ अभियान कश्यप तालमा

पोखरा, ४ असार/हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ अघि बढेको पोखरा उपत्यका बृहत् सफाइ अभियानको ५५ औं श्रृंखला कास्कीकोटमा सम्पन्न भएको छ । कास्कीकोटस्थित ऐतिहासिक काश्यम तालको सरसफाइ गरी अभियान अघि बढाइएको हो ।

नागरिक समाज पोखराद्वारा हरेक शनिबार बिहान आयोजना हुने उक्त कार्यक्रममा यसपटक स्वयंसेवीहरु पोखरादेखि कास्कीकोट पुगेका थिए । स्थानीय जनतासहित नवनिर्वाचित जनप्रतिनिधिको पनि कार्यक्रममा उत्साहजनक सहभागिता थियो । प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले राष्ट्रिय गान बजाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बार्दली बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट अध्यक्ष रेशम सापकोटाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका वडा अध्यक्ष ओमप्रसाद सुवेदीलाई १५ थान डोको र १५ सय ग्लोब हस्तान्तरण गरेका थिए । त्यस्तै, सिर्जना टोल विकास संस्था, सिमलचौरका अध्यक्ष बलराम बरालका अध्यक्षले सफाइ अभियानको लागि सेफ्टी ग्लोब हस्तान्तरण गरेका थिए ।

त्यसअघि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वयंसेवीलाई शपथ गराएका थिए ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले प्लाष्टिकजन्य फोहोर डढाउँदा स्वास्थ्यमा हानी पुग्ने हुँदा त्यस्ता फोहोर बोरामा जम्मा गरी राख्ने वा खाल्डोमा पुर्न अनुरोध गरेका थिए ।

सो अवसरमा मुक्तिनाथ विकास बैंक, बार्दली बचत तथा ऋण सहकारी संस्था, अभियान क्लब महिला उपसमिति, हाम्रो कास्कीकोट युवा समूह, अभियान युवा क्लब, स्थानीय आमा समूह, स्थानीय भजन चुड्का समूह स्वयं सामाजिक अभियान्ताले ऐक्यबद्धता जनाएका थिए । कार्यक्रमबीच यसअघि भएका सरसफाइ गतिविधिको फोटो प्रदर्शनीसमेत गरिएको थियो ।

कमेन्टहरु
Loading...