१४ औं रोपाइँ महोत्सव अर्मलामा हुने, तयारी तीव्र

पोखरा २ असार/ विगतका वर्षहरूममा झैं यसवर्ष पनि असार १५ मा आयोजना गरिन लागिएको १४ औं रोपाईँ महोत्सवको तयारी तीव्र पारिएको छ । पोखरा लेखनाथ–१६ का कृषक गोविन्दबहादुर थापाको अर्मलास्थित ठूली वेंशी फाँटमा रहेको २० रोपनी क्षेत्रफलको खेतमा महोत्सव गरिन लागिएको स्थानीय सहयोग समितिका सचिव केशब बस्नेतले जानकारी दिए ।

उनका अनुसार रोपाईँ महोत्सवको करिब ७५ प्रतिशत तयारी पूरा भएको छ । महोत्सवमा ४ हल र बाउसे रोपाहारको व्यवस्था मिलाइएको छ । गुफैगुफाको शहर महेन्द्रगुफा नजिकै रहेको ठूलीवेंशी फाँटमा गरिने रोपाईँ महोत्सवले त्यस क्षेत्र पर्यटन प्रवद्र्धन गरी ‘केभ साइड’ का रुपमा विकास गर्न सहयोग पुग्ने स्थानीयबासीको विश्वास छ ।

यसैबीच रोपार्इँ महोत्सव स्थानीय सहयोग समितिले बुधबार स्थानीय संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलमा विभिन्न आमा समूहसहितका ३५ वटा सामाजिक संससंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो । सहभागीहरूले १४ औं रोपाईँ महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मानो खाएर मुरी उब्जाउन’ पोखराका पर्यटन व्यवसायीले महोत्सवका रुपमा मनाउँदै आएका छन् । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, आमा समूहबीच असारे गीत तथा रोपाईँ प्रतियोगिता, हिलो दौड, रस्साकस्सी लगायतका प्रतियोगिता समावेश गरिएको पोखरा पर्यटन परिषद्ले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...