काजीको घरमा जाने हो ? गेटबाटै विचार गर्नोस् !

२६ असार, काठमाडौं । के तपाई एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई भेट्न ललितपुरको हरिसिद्धीस्थित उहाँको निवासमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने घरमा पस्नुअगावै गेटैमा लेखिएको ‘बडापत्र’ ध्यानपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । सरकारी कार्यालयको नागरिक बडापत्रजस्तै देखिने ठूलो बोर्डमा ‘स्वागत- अभिवादन’ शीर्षकमा छ बुँदे विवरण उल्लेख गरिएको छ । यी बुँदाहरु पढिसकेर गेटभित्र छिर्नुभयो भने तपाईले अर्को विचित्र दृश्य देख्न पाउनुहुनेछ ।narayan-kaji-1

उपाध्यक्ष श्रेष्ठको घरमा पूर्व जानकारीविना समय कटाउनका लागिमात्रै जाने विचार गर्नुभएको छ भने तपाईले कुनै कष्ट नगर्नुभए हुन्छ । गेटमा टाँगिएको बोर्डको पहिलो बुँदामा नै स्पष्ट भनिएको छ,’समयको महत्व बुझेर पहिले नै समय निश्चित गरेर समयमै आउनुभएकोमा धन्यवाद एवं स्वागत छ ।’उपाध्यक्ष श्रेष्ठलाई कुनै भनसुन गराउन, जागिर माग्न वा गलत काम गराउनका लागि तपाई भेट्न खोज्नुभएको छ भने गेटैबाट बडापत्र पढेर फर्किनुभए हुन्छ । किनभने ६ बुँदे बडापत्रको अन्त्यमा लेखिएको छ-’हामीजस्तै अरु कसैको हक हित खोसेर, उसको नोक्सानीको मूल्यमा आफ्ना निजी स्वार्थका लागि पक्षपातपूर्ण भनसुन गराउन वा कुनै गलत बेठीक काम गराउन आउनुभएको होइन भन्ने कुरामा म विश्वस्त छु । तपाईको त्यो सदगुणका लागि साधुवाद र स्वागत छ ।’

गेट छिचोलेर प्रहरीको चेकिङ पार गरेपछि तपाई भित्र पस्न सफल हुनुभयो भने तपाईले त्यहाँ घरअगाडि फूलबारी र वगैंचा देख्न सक्नुहुने छ । वगैंचामा फूलसँगै वरिपरिको भित्तामा नेपाली र अंग्रेजी भाषामा नारै नारा देख्न सक्नुहुनेछ । तर, नारा भन्नाले एमाओवादी जिन्दावाद वा कुनै पार्टीलाई मूर्दावाद लेखिएको भने विल्कुल होइन । बरु गौतम वुद्ध, मार्क्स, लेनिन, चेग्वेभारा, दार्शनिक सुकरात, अल्बर्ट आइन्सटाइन र गीताको महत्वपूर्ण भनाइहरुसमेत भित्तामा कोरिएको पढ्न पाइन्छ ।kajai-nara-2

वगैचामा कांक्रोसमेत फल्ने तरखरमा छ भने हरियो दूबो मौलाइरहेको छ । गुलाब र सयपत्री अनि विभिन्न रंगका फूलहरु फुलिरहेको मनमोहक दृश्य देखिन्छ ।एमाओवादी उपाध्यक्ष श्रेष्ठ केही न केही नयाँ काम गरेर चर्चामा आइरहनुहुन्छ । संविधानसभा विघटन हुने दिन उहाँ बालुवाटारमा आँखाबाट आँशु नै निकालेर उहाँ रुनुभएको थियो । परराष्ट्रमन्त्री छँदा उहाँले कुटनीतिक भेटघाटलाई व्यवस्थित गर्ने प्रयास गर्नुभयो । तर, त्यसमा त्यति सफल हुन सक्नुभएन ।मन्त्रीबाट हटिसकेपछि पनि उहाँले केही न केही नयाँ पारा झिकेर दिनचर्या बिताइरहनुभएको उहाँको निवास वरिपरिको दृश्यले स्पष्ट पार्छ । पहिले ललितपुर झम्सीखेलको एउटा साँघुरो घरमा बस्ने नारायणकाजी अहिले हरिसिद्धिको फराकिलो घरमा सर्नुभएको छ । तर, यो घर उहाँको निजी नभएर भाडामा लिइएको हो ।kaji-nara-4

तपाईहरुलाई लाग्दो हो अविवाहित एवं ब्रह्मचारी जोगीजस्ता श्रेष्ठ घरमा एक्लै हुनुपर्ने हो । तर, उहिलेका काजी साहेबका घरमाजस्तै उहाँको घरमा पनि रेखदेख गर्ने र भेटघाट गर्नेहरुको घुईंचो नै लाग्ने गर्दछ । पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएकाले गेटमा बन्दूकधारी सुरक्षाकर्मी पनि हुने नै भए । पार्टीको जिम्मेवार नेता भएकाले भेट्न आउनेहरुको दिनभरि नै चलह-पहल भइरहन्छ ।तर अरु नेताको भन्दा नारायणकाजीको निवास अलि फरक बनाएको छ यी आदर्शवादी नारा र उद्गारले । यो वा त्यो काम लिएर पुग्ने, अनावश्यक दबाब र प्रभाव पार्न खोज्ने आगन्तुकहरुबाट हैरान भएर होला उहाँले त्यस्ता मान्छेका लागि गेटैमा सजक गराउनुभएको ।kaji-nara-3

‘भित्तामा किन यसरी विभिन्न विद्वानका भनाइ लेखाउनुभएको ?’ अनलाइनखबरको प्रश्नमा उपाध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘घरमा आउने पाहुनाहरुले एकैछिन अल्मलिनुपर्दा अनावश्यक कुरा सोच्नुको साटो एकैछिन भए पनि राम्रा विचारहरु पढुन् र उनीहरुमा सदविचार आओस् भनेर यसो गरिएको हो ।अनलाइनखबरको टोली विदा भएर घरबाट फर्किने बेलामा उपाध्यक्ष श्रेष्ठले गेटको बोर्डमा लेखिएको अन्तिम बुँदा देखाउँदै सो बुँदा पढिदिन विशेष आग्रह गर्नुभयो ।

cp. onlinekhabar.com

 

gita

कमेन्टहरु
Loading...