यमनसँग नेपालले अंक बाँड्यो, गोलरहित बराबरीमा

काठमाडौं, ३० जेठ /नेपालले र यमन सगँ एसियन कप छनोट प्रतियोगिताको खेलमा बराबरी गर्दै अंक बाडेको छ । नेपालले गोलरहित बराबरीमा रोकिएको हो । बलियो मानिएको यमनलाई खुलेर खेल्न नदिएका नेपाली खेलाडीहरुले दोस्रो हाफमा खेललाई नियन्त्रणमा राखेका थिए।

दोस्रो हाफमा अन्जन बिष्ट र रोहित चन्दको दुईवटा उत्कृष्ट प्रहारलाई यमनी कप्तान तथा गोलरक्षक इब्राहिम अयासले बचाउ गरेपछि नेपालको सम्भावित जित टरेको थियो। अन्जनले ६४ मिनेटमा डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर हानेको प्रहार अयासले डाइभ–पञ्च गर्दै बाहिर पठाएका थिए।

यस्तै, रोहित चन्दले ७७ मिनेटमा हानेको कडा प्रहार अयासले पुनः डाइभ गरेर जोगाएका थिए। नेपालले छोटो पास खेल्ने यमनविरुद्ध आज विमल घर्तीमगरको स्थानमा विशाल राईलाई मैदानमा उतारेको थियो। विक्रम लामा फिलिपिन्स विरुद्धको अघिल्लो खेलमा रातो कार्ड पाएर यस खेलमा अनुपस्थिति थिए।

यमनका मिडफिल्डर मोहम्मद नबिलले सुरुको एघार मिनेटमा दुईवटा मुभ बनाउदै नेपाललाई दबाबमा राख्ने प्रयास गरेका थिए। उनको ५ र ११ मिनेटको दुईवटा राम्रो प्रहारलाई गोलकिपर किरण चेम्जोङले जोगाएका थिए।

यसपछि यमनी खेलाडीले खासै राम्रो मुभ बनाउन सकेन्। उनीहरू छोटो पास मिलाउन नै तल्लिन देखिन्थे। नेपालले पहिलो हाफमा पनि विङबाट दुई वटा उत्कृष्ट क्रस गरेको थियो। तर, दुवै पल्ट यमनी टोली भाग्यमानी सावित भए।

एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को यो खेल बराबरीमा रोकिएपछि यमनले अंक तालिकामा ४ अंक जोडेको छ भने नेपालले पहिलो अंकको खाता खोलेको छ।

कमेन्टहरु
Loading...