प्रदेश उद्योग वाणिज्य महासंघको नेतृत्वको लागि चुनावी तयारी 

पोखरा, २५ जेठ / नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को नयाँ कार्यसमितिको लागि जेठ २७ गते शनिबार निर्वाचन हुने भएको छ ।  नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले आफूलाई प्रादेशिक संरचनामा परिवर्तन गरेसँगै सातवटै प्रदेशमा महासंघको प्रादेशिक संरचना तयार भएको हो ।
विधानतः तयार पारिएको संरचना अनुसार नै आउँदो शनिबार नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेको प्रदेश उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ४ का तदर्थ समिति संयोजक संजिवबहादुर कोइरालाले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रदेश नम्बर ४ को निर्वाचनले अध्यक्षसहित उद्योग÷वाणिज्य तथा एसोसियट÷बस्तुगततर्फबाट एक÷एक जना उपाध्यक्ष, कोषाध्यक्षसहितको कार्यसमिति चयन गर्नेछ । निर्वाचित प्रदेशको कार्यसमितिको पदावधी ३ वर्षको हुनेछ ।
यो प्रदेशमा रहेका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, एसोसियट  अनि बस्तुगत सदस्यहरु प्रदेश महासंघको सदस्य बन्नेछन् । एसोसियट सदस्य बन्नको लागि  कम्तिमा यस प्रदेश भित्र संचालनमा रहेका तथा चुक्ता पूँजी ५० लाखभन्दा माथि रहेका प्रतिष्ठान, कम्पनी वा कर्पोरेसन, बैंक वा वित्तीय संस्था हुनुपर्नेछ भने वस्तुगत सदस्यको हकमा कम्तिमा दुई वटा जिल्लामा कानुन बमोजिम दर्ता भएका सदस्य हुनुपर्नेछ ।
प्रदेश उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ४ को हालै बाग्लुङमा सम्पन्न सदस्यता समितिको बैठकले हाल प्रदेशको लागि सदस्यता आवेदन दिएका तथा रित पुगेका १३ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र ३२ वटा एसोसियट सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ । निर्वाचन सम्पन्न गर्नको लागि अधिवक्ता दामोदर अधिकारीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको प्रदेश उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ४ का संयोजक संजिवबहादुर कोइरालाले जानकारी दिनुभयो । समितिमा अधिवक्ताद्धय नारायण कोइराला र हरिप्रसाद पण्डित सदस्य रहनु भएको छ ।
शनिबार हुने उद्घाटन सत्र लगत्तै निर्वाचन कार्यक्रम सुरु हुने निर्वाचन संयोजक दामोदर अधिकारीले जनाउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासंघको निर्णय अनुसार नै प्रदेश उद्योग वाणिज्य महासंघको सचिवालय पोखरामा नै रहनेछ ।
कमेन्टहरु
Loading...