पोखरा र कुनमिङ्गबिच भगिनी सम्बन्धमा हस्ताक्षर, बहुपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता

कुनमिङ ८ जुलाई/पोखरा र कुनमिङ्ग नगरबीच सोमबार भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कुनमिङ्गको फाइभ स्टार होटल वा इन्टरनेश्नल होटलमा आयोजित समारोहमा पोखरा उप–महानगरपालिकाका प्रमुख झलकराम अधिकारी र कुनमिङ्ग नगर जनसरकार प्रमुख लि वेनरङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता प्रदान गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै कुनमिङ्ग नगरका प्रमुख लि ले आजको दिन विशेष दिन भएको बताउँदै भगिनी सम्बन्धलाई संस्थागत गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जैविक विविधता र जनजातिका कारण धनी यस नगरमा तपाईलाई स्वागत छ, नगर प्रमुख लि ले भन्नुभयो,—‘आजको यो हस्ताक्षरले दुई पक्षिय सम्बन्ध सुमधुर र दह्रो बनाउन सघाउनेमा म विश्वस्त छु ।’

हस्ताक्षर समारोहमा प्रत्युत्तर मन्तव्य व्यक्त गर्दै पोखरा उपमहानगर पालिकाका प्रमुख झलकराम अधिकारीले कुनमङ्गि जस्तो शक्तिशालि र पुर्वाधार सम्पन्न शहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुसि व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा विकास निर्माण, पर्यटन प्रवर्धन, सरसफाई व्यवस्थापन लगायतको क्षेत्रमा २ नगर बीच सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । अधिकारीले कुनमिङ्ग नगरका प्रम्ुख लि लाई चाँडै पोखरा भ्रमणको निम्तो समेत दिनुभयो ।

हस्ताक्षर समारोह पछि आयोजित दिवाभोजका क्रममा पोखरा उपमहानगरपालिकाको प्रमुख अधिकारीले पोखराको विकासका लागि ३ वटा महत्वपुर्ण विकास योजना समेत प्रस्तुत गर्नुभयो । हरिचोक, जिरो किमी ६ लेन सडक विस्तार फेवातालमा जाने ढलको डाइभर्सन र व्यस्त ४ वटा चोकमा आकाशेपुल अहिले पोखराको आवश्यकता हो, अधिकारीले भन्नुभयो— यसका लागि म कुनमिङ्ग नगरका प्रमुखमार्फत चीन सरकारलाई आग्रह गर्दछु ।

कुनमिङ्ग नगरका प्रमुख लि ले पनि यो सम्बन्ध नाम, काम र भावना सबै हिसाबले महत्वपुर्ण बनाउने बताउँदै आजदेखि पोखरा र कुनमिङ्गबीच दाजुभाई र दिदीबहिनीको सम्बन्ध स्थापित भएको घोषणा गर्नुभयो । उहाँले यो सम्बन्ध दुई नगरपालिका बीच मात्र सिमित नभई जनता जनता र पर्यटन प्रवद्र्धन लगायतका वहुपक्षिय क्षेत्रमा सम्बन्ध विस्तार हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दिवाभोजमा स्वागत गर्दै कुनमिङ्ग नगरका उप—प्रमुख रुन फेङ्गविनले आजदेखि कुनमिङ्ग र पोखरा बीच मित्रता, सहयोग र आत्मियताको नयाँ अध्याय सुरु भएको बताउनुभयो । हस्ताक्षर समारोहमा पोखरा उपमहानगरपालिकाको तर्फबाट कलात्मक आँखीझ्याल, वीरताको चीनो खुकुरी र बुद्धको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो । हस्ताक्षर समारोहका लागि कुनमिङ्ग पुगेको १५ सदस्यीय प्रतिनिधि मण्डल मंगलबार पोखरा फर्कदैछ ।

कमेन्टहरु
Loading...