नेकपा-माओवादीद्वारा बैद्यको नेतृत्वमा वार्ता टोलीको घोषणा

२४ असार, काठमाडौं । नेकपा-माओवादीले वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन किरणको नेतृत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिवद्वय नेत्रविक्रम चन्द विप्लव र देव गुरुङ सदस्य रहनु भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी माओवादीले सबै विषयमा निशर्त वार्ताको टेबलमा बसेर छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा गरेको हो । ‘सरकार र राजनीतिक समितिसँग पनि वार्ता गर्न तयार छौं’ अध्यक्ष मोहन बैद्य किरणले भन्नुभयो-’तर, मंसिर ४ गतेको चुनाव मान्दैनौं । निशर्त वार्ता गर्नुपर्छ ।’ प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले भने मंसिर ४ को निर्वाचन स्वीकार गरिए गोलमेच वा सर्वपक्षीय सम्मेलन गर्न सकिने बताएको छ ।

पोखरामा हालै सम्पन्न माओवादी केन्द्रीय समितिको विस्तारित बैठकले सबै राजनीतिक दल तथा शक्तिको गोलमेच सम्मेलन र त्यसका आधारमा राजनीतिक दलको नेतृत्वमा सरकार नबनेसम्म संविधानसभा निर्वाचनको औचित्य नभएको भन्दै माओवादीले त्यस्तो निर्वाचनको सक्रिय तथा सशक्त बहिस्कार गर्ने निर्णय समेत गरेको छ । निर्वाचन निरपेक्ष रुपमा बहिस्कार गर्ने नभनिएको भन्दै बैद्यले यथास्थितिमा भने चुनावमा नजाने प्रष्ट पार्नुभयो ।

बैद्यले आफूहरुको मोर्चामा रहेका ३३ दलसहित आन्दोलनरत शक्तिलाई सहभागी गराएर गोलमेच सभा गर्नु पर्ने र त्यहीबाट राष्ट्रिय सहमतिको सरकार बनाउने र कसरी संविधानसभाको अर्को निर्वाचन गर्ने भन्ने टुङ्गो लगाउनु पर्ने बताउनु भयो । गोलमेच सभामा अबको संविधान कस्तो बनाउने भन्नेबारे सहमति गरे पनि त्यहीबाट संविधान भने घोषणा नगर्ने उहाँको भनाई छ ।

बैद्य माओवादीले आगामी साउन १० गतेदेखि चुनाव बहिस्कार आन्दोलन थाल्ने घोषणा समते गरेको छ । सुरुमा प्रचारात्मक कार्यक्रम गरिने छ बहिस्कारको कार्यक्रम भने केन्द्रीय कार्यालय बनाउने महासचिव बादलले जानकारी दिनुभयो । बहिस्कार आन्दोलनको पक्षमा रहेका अन्य दलहरुसँग तालमेल गरिने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा महासचिव बादलले धेरैले पोखरा बैठकबाट माओवादी फुटेर आउँछन् भनेको तर, आफू एक भएर आएको बताउनु भयो । बलपूर्वक युद्धमा धकेलेर र आत्मसर्मपर्ण गराएर क्रान्तिकारी शक्तिहरुलाई सिध्याउने षड्यन्त्र भइरहेको उहाँको भनाई थियो ।

एकता कांग्रेस-एमालेलाई तर्साउने मेलो

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन बैद्य किरणले एमाओवादी र नेकपा-माओवादीबीचको पार्टी एकता हल्ला मात्र भएको बताउनु भयो । ‘माओवादीसँग एकता हुँदैछ, हामीले एक भएर चुनावमा जान्छौं’ भनेर एमाओवादीले कांग्रेस एमालेलाई तसाउने काम मात्र गरेको उहाँको भनाई छ ।

– See more at: http://www.onlinekhabar.com/2013/07/91131/#sthash.p6bSpoJd.dpuf

कमेन्टहरु
Loading...