काँग्रेस कास्की हरि आचार्यको निधनमा १३ दिन पार्टी कार्यालय बन्द गर्ने

पोखरा, १० जेठ /नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको निधन भएकोमा पार्टीले दुःख व्यक्त गरेको छ।
कास्की काँग्रेसले १३ दिनसम्म पार्टी कार्यालय बन्द गर्ने र पार्टीका कुनै पनि गतिविधि सञ्चालन नगर्ने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

१३ दिनसम्म सवै मातहतमा रहेको पार्टीको झण्डा आधा झुकाईने छ। कास्की काँग्रेसका सभापति कृष्ण केसीले बुधबार नै शोक विज्ञप्ति प्रकाशित गरी उपसभापति आचार्यको निधनप्रति दुःख व्यक्तगर्दै पार्टीका लागि अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्। विज्ञप्तिमा मृतात्माको चिरशान्ति तथा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि कामना गरिएको छ।

विज्ञप्तिमा उपसभापति आचार्यले लोकतान्त्रिक आन्दोलन र पार्टीको विकास, विस्तार तथा सुदृढिकरणका लागि निर्वाह गरेको भुमिका सदैव स्मरणीय रहने उल्लेख छ। आचार्यको पार्थिव शरिर अन्तिम श्रद्वाञ्जलीका लागि एक घण्टा पार्टी कार्यालय चिप्लेढुङ्गामा राखिएको छ। आचार्यप्रति अन्तिम श्रद्वाञ्जली अर्पण गर्नका लागि ठूलो संख्यामा पार्टीका नेता
तथा कार्यकर्ता र शुभेच्छुक पार्टी कार्यालय पुगेका थिए।

पार्थिव शरिर बुधबार नै पोखरा लेखनाथ महानगरपालिका वडा न. ११ मणिपालस्थित त्रिवेणी घाटमा अन्त्येष्ठि गरिएको छ।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्य जीवन परियार, सांसद यज्ञबहादुर थापा र शारदा पौडेल लगायतका नेताहरुले पुष्पगुच्छा अर्पण गरी अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए। २०३२ साल माघ १० गते जन्मेका आचार्यले नेपाल विद्यार्थी संघबाट राजनीतिको यात्रा शुरु गरेका थिए। उनले केहि समय तरुण दलमा पनि योगदान पु¥याएका थिए।

कमेन्टहरु
Loading...