पोखरा–लुम्बिनी पर्यटकीय सहकार्यमा जोड

पोखरा, ९ जेठ ः सडक तथा हवाई कनेक्टिभिटी विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्न पोखरा र भैरहवा क्षेत्रका पर्यटन व्यवसायी सहमत भएका छन् । सिद्वार्थ होटल एशोसिएशन नेपालद्वारा बुधबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा दुबै क्षेत्रका होटलकर्मीहरु पर्यटक आदानप्रदान तथा व्यापार विस्तार गर्ने विषयमा केन्द्रित भई छलफल गरेका थिए । पर्यटकीय अवलोकनका लागि लुम्बिनी क्षेत्रका व्यवसायीको एक टोली चितवन, बन्दिपुर हुँदै पोखरा आइपुगे पछि यो अन्तरक्रिया आयोजना गरिएको हो ।

सो अवसरमा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरा–भैरहवा सडक मार्ग अर्थात् सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई एक अर्को शहरमा भ्रमणका लागि आकर्षण गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रका अतिरक्त सरकारी पहल पनि उत्तिकै आबश्यक पर्ने बताउँदै उनले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसँग पनि यस विषयमा केही दिन अघि कुरा भएको स्मरण गराए ।

सिद्वार्थ होटल एशोसिएशनका अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पर्यटनको प्रभावकारी विकासका लागि निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर सँगसँगै अगाडि बढ्नुपर्ने बताए । सुनौली नाकामा रहेको नेपाल पर्यटन बोर्डको सूचना केन्द्र निकै महिनादेखि निस्क्रिय रहेको बताउँदै यसलाई यथासक्य छिटो सञ्चालनमा ल्याउन जरुरी भएको बताए । सरकारले नसक्ने हो भने हामीले नै संचालनमा ल्याउँछौं भन्दा पनि सरकार उदासिन बनेको भनाई उनको थियो ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले भारतबाट नेपाल प्रवेश गर्न साथ पर्यटकले फरक र सुखद अनुभव गर्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाव राखे । यसका लागि स्थानीय पर्यटन व्यवसायीलाई तालिमको समेत कार्यक्रमहरु राख्न सकिने बताए ।

सिद्वार्थ होटल एशोसिएशनका सल्लाहकार चेतन पन्तले पोखराले हनिमुन प्याकेज मात्र होइन फनिमुन अर्थात् बुढ्यौली उमेरका पर्यटकलाई रमाइलो गरी घुम्ने खालका प्याकेज पनि ल्याउन सके राम्रो हुने सुझव राखे । पश्चिमाञ्चल होटल संघका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले सिण्डिकेटका कारण पोखरादेखि भैरहवा सम्म पर्यटक सवारी चलाउन नसकिएको बताउँदै यसलाई तोड्न सबै व्यवसायी तथा सरकार एक भएर लाग्नुपर्ने सुझाव राखे । विगतमा पर्यटक नम्बर प्लेटका सवारी चलाउन ठूलो संघर्ष गरिएको स्मरण गराउँदै दुबै तर्फबाट कम्तिमा एक एक वटा हरियो नम्बर प्लेटका पर्यटक सवारी संचालन सुरु गर्न सके पर्यटकलाई सहज हुने भनाई राखे ।

भैरहवा क्षेत्रका पर्यटन व्यवसायी हेम विष्टले दुबै क्षेत्रको पर्यटकीय विकासका लागि पश्चिमाञ्चल होटल संघ पोखरा र सिद्वार्थ होटल एशोसिएशन विच पाँच बुँदे सहमति भएको जानकारी दिए । सहमतिमा दुई क्षेत्र विच नियमित सम्पर्क र सम्बन्ध विस्तारका लागि संरचना निर्माण गर्ने, सिधा यातायात सेवा संचालन गर्न पहल गर्ने, गन्तव्य प्रवद्र्धनमा सहकार्य, आपसी प्याकेजहरु निर्माण र स्टलसहित विभिन्न महोत्सवमा सहभागिता जस्ता बुँदा सहमतिमा समेटिएका छन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार गोविन्दराज पहारीले व्यवसायीले आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताउँदै पोखराका होटलमा आन्तरिक पर्यटकको अकुपेन्सी दर ४० प्रतिशत पुगेको जानकारी दिए ।

काठमाडौं, चितवन, भैरहवा हुँदै पोखरा जोड्ने गरी गोल्डेन ट्रयांगल विकास गरिनुपर्ने सुझाव पनि उनले राखे । सो अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार लक्ष्मीवहादुर भट्टराई र पत्रकार रमेश पौडेलले पनि भनाई राखेका थिए ।
सिद्धार्थ होटल एशोसिएशनका महासचिव लिलामणि शर्माले पर्यटकको संख्या मात्र नहेर गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन पनि पहल गर्नुपर्ने सुझाव राखे । लुम्बिनी आउने देश विदेशका पर्यटकलाई एक रात त्यहाँका होटलमा बास बस्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने र लुम्बिनी परिसरमा गुम्बा तथा तथा चैत्यमा होटल जस्तो गरी पर्यटक बास बसाल्ने व्यवस्था अन्त्य गर्नुपर्ने विषयमा समेत दुबै पक्ष सहमत भएका थिए ।

कमेन्टहरु
Loading...