पोखरा महानगरको मतगणना अन्यौलमा#LocalPolls2017 #Pokhara

पोखरा, ८ जेठ /निर्वाचन आयोगको निर्देशनपछि पोखरामा रोकिएको मतगणना सोमबार विहानसम्म पनि सुरु हुन सकेको छैन । एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेर मुख्य निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरा १७ मा फर्जि मत भेटिएको भन्दै अवरोध गरेपछि शनिबार देखी पोखरा लेखनाथ महानगर पालिकाको मतगणना हुन सकेको छैन ।

पटक पटक सर्वपक्षीय बैठक बसेपनि निष्कर्ष निस्किन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई आइतबार समस्या समाधानका लागि पत्र पठाएको थियो । पत्रको सुनुवाई गर्दै आयोगले फरक प्रकृतिका स्वस्तिक छाप प्रयोग हुन सक्ने भएकाले मतगणना सुरु गर्न आदेश दिएको थियो ।

निर्देशनात्मक पत्र पाएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले मतगणनाको तयारी गरेको थियो । तर सर्वदलिय बैठकमा अरु दलहरुले स्वस्तिक छाप वडा नम्बर १७ को मुचुल्का माग गर्दा निर्वाचन कार्यालय दिन सकेको छैन ।

‘कानुनलाई दुरुपयोग गरेर फर्जि मतपत्र गन्ने अधिकार आयोगलाई छैन । मतपत्र सही हो भने हामीलाई प्रमाण चाहिन्छ, माओबादी कास्कीका अध्यक्ष दिपक कोइरालाले भने–यही अवस्थामा मतगणना हुन सक्दैन ।

एउटै निर्वाचनमा फरक स्वस्तिक छाप प्रयोग गर्न पाइनदैन भैहाले पनि सबै स्वस्तिकको मुचुल्का उठाउनु पर्ने बताउदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले फरक छापको मुचुल्का देखाए आफुहरु गणना गर्न तयार रहेको बताए ।
एमाले अध्यक्ष कृष्ण थापाले मतगणना रोक्न नमिल्ने बताए । उनले सहज रुपमा गणनाको वातावरण बनाएर नतिजा स्विकार गर्न आग्रह गरे । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...