मुक्तक मञ्च पोखरामा परिवर्तन

पोखरा, २३ असार मुक्तक मञ्च, पोखराको छैटौं साधारणसभा तथा चौथो अधिवेशनबाट युवा साहित्यकार परिवर्तन सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । ‘मुक्तकको उत्थानः हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाली मुक्तकको संस्थागत विकासका लागि २०६५ सालदेखि क्रियाशील मुक्तक मञ्चको शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्राञ्जल, सचिवमा सरला लामिछाने ‘सरु’, कोषाध्यक्षमा दीपकराज त्रिपाठी र सहसचिवमा पवित्रा भण्डारी ‘पारु’ चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा माया कुँवर, रेश्मा कार्की, टीकाराम रेग्मी ‘विकास’ र समीर पौडेल ‘विलासी’ सर्वसम्मत चयन हुनुभएको छ ।

२ वर्षे कार्यकाल रहने मञ्चको नयाँ कार्यसमितिले २ जना सदस्य मनोनित गरेर राख्ने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष परिवर्तनले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै समग्र मुक्तककारहरु एकजुट भएर अघि बढ्ने बताउनुभयो । साहित्यकार लक्ष्मण थापाको संयोजकत्वमा डा. वसन्त गौतम र विष्णु अल्पविराम सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित सदस्यहरुको घोषणा गरेको थियो ।

यसअघि सम्पन्न साधारणसभाबाट अध्यक्ष कृष्ण देवकोटाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा साहित्यकार दीपक समीप, ईश्वरमणि अधिकारी, रुपिन्द्र प्रभावी, डा. वसन्त गौतम, अल्पविराम, जीवन सागर भण्डारी, बिर्सना बस्नेत, मदन भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष परिवर्तनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सरला लामिछाने ‘सरु’ले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...