राखि–मिजुरे सडकको अवस्था जीर्ण

पोखरा, २२ असार कास्की जिल्लाको राखि–मिजुरे सडक जीर्ण भएको भन्दै सडक मर्मतका लागि आवश्यक सहयोगका लागि स्थानीय उपभोक्ताहरुले जिल्ला विकास समिति कास्कीमा अनुरोध गरेका छन् । कास्कीको लेखनाथ नगरपालिका, कालिका, माझठाना, थुमाकोडाँडा, सैमराङ, भाचोक, मिजुरे गाविसका हजारौं स्थानीय बासिन्दाले प्रत्यक्ष उपभोग गर्ने सडकको अवस्था अत्यन्त जीर्ण भएको उपभोक्ता समूहका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिनुभयो ।

माझठानाको सौर्यदेखि ओख्लेसम्मको बाटो बाढीले पुरै भत्काएको र यात्रु उतारेर यात्रा गर्नुपर्ने कष्टकर अवस्था रहेको स्थानीयको गुनासो छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय, जिल्ला विकास समिति कास्कीमा पटक–पटक अनुरोध गरेपनि मर्मतको सार्थक पहल नभएको अध्यक्ष तिवारीले बताउनुभयो । अत्यन्त भिरालो र कमजोर सडकका कारण ठूला गाडीहरु संचालनमा आएपनि कतिबेला कहाँ दुर्घटना हुने हो भन्ने त्रासदीपूर्ण अवस्था यात्रुहरुमा हुने गरेको छ ।

दैनिक रुपमा संचालन हुने बस सेवा पनि नियमित संचालनमा कठिनाई उत्पन्न भएको र जीर्ण सडकका कारण कुनै मानवीय क्षति भएमा त्यसले सो क्षेत्रमा नै पीडादायी अवस्था सिर्जना हुने स्थानीय स्वास्थ्यकर्मी केशवराज घिमिरेले बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि स्थानीय विकास अधिकारी समक्ष माग गरिएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...