निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैन : आयोग

काठमाडौं,  १६वैशाख /निर्वाचन आयोगले दुई चुनावको बिचमा बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार​ बसेको आयोगको बैठकले दुई वटा चुनावको बिचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचारसंहिता विपरित हुने निर्णय गरेको हो ।

आयोगले यसअघि आफूसँगको परामर्शमा सरकारले दुई वटा चुनावको बिचमा पनि नीति तथा कार्यक्रम र बजेट ल्याउन पाउने बताएको थियो ।वार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने हुँदा यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने तयारी अन्तिम चरणमा पुर्याएको बेलमा सरकारले मधेसी मोर्चासँगको सहमति भन्दै वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो ।गत फागुन १८ गतेदेखि लागू हुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको र आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभर समेत यथावत् कायम रहने हुँदा दुबै निर्वाचनको बीचमा सरकारबाट नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकूल नहुने आयोगको निष्कर्ष रहेको छ ।

नेपालको संविधानमा किटानका साथ जेठ १५ गते वार्षिक बजेट प्रस्तुत् गर्ने प्रावधान राखिएको हुँदा त्यसलाई ध्यान दिँदै सरकारले बजेटको तयारी गरेपछि प्रमुख प्रतिपक्षी दलबाट त्यसको तीव्र आलोचना हुँदै आएको छ ।प्रतिपक्षी सहितका दलहरुले त्यसरी बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरीत हुने जनाउँदै सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटलाई रोक्न निर्वाचन आयोगलाई पटक–पटक गम्भीर ध्यानाकर्षण गराउँदै आएका थिए ।सरकारले निर्वाचनलाई लक्षित गरेर मतदाता प्रभावित हुन सक्ने सम्भावनालाई ध्यान दिँदै आयोगले पछिल्लो निर्णय गरेको बताइएको छ ।

कमेन्टहरु
Loading...