बुद्ध बचतले मनायो १५ औं स्थापना दिवस

पोखरा, १५ बैशाख/बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्ध बिशाल बजार महेन्द्रपुलले दशौं स्थापना दिवस शुक्रबार एक औपचारिक कार्यक्रम गरी मनाएको छ । २०६४ सालमा स्थापित सहकारीले चियापान कार्यक्रमसहित नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान गदै आफ्नो दशौं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्रमुख बालकृष्ण सुवेदीले सहकारीहरुले नाफा केन्द्रीत मात्रै हुनुभन्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले बुद्ध बिशालबजार भित्रका ३ सहकारी मर्ज गरेर त्यहाँ विक्री हुने सामग्री आफै उत्पादन गर्नेतर्फ अग्रसर हुन सुझाव समेत दिए । त्यस्तै उनले सहकारीका शेयर सदस्यहरुलाई पनि नाफा कति हुन्छ भनेर हिसाबकिताब गरेर बस्नुभन्दा सहकारीप्रति आफ्नो कर्तब्य र दायित्व के हो भन्नेबारे बुझेर काम गर्न आग्रह गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहकारीहरु सफल भन्दापनि असल बन्न आवश्यक रहेको औंल्याए । सहकारीले सहकारीको मूल सिद्धान्त शेयर सदस्यहरुसँग सहकार्य र उनीहरुको समुन्नती गर्न छाडेर नाफामूलक मात्र हुँदैगएको प्रति सचेत गराउँदै आफ्नो जिम्मेबारी बोध गर्न सुझाव दिए ।

सहकारीका अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षता तथा सहकारीकी सदस्य लक्ष्मी कार्की भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गरेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य गीता तिवारी (गौतम), फेन्सी तथा रेडिमेड ब्यबसायी संघका अध्यक्ष केशबबहादुर खत्री, बुद्ध बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष प्रदीपकुमार मुल्मी, शेयर सदस्य दुर्गाप्रसाद पौडेल, सचिव बासुदेव पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच, सहकारीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बुद्ध बिशाल बजार परिसर सहकारी कार्यालय प्राङ्गणमा आयोजना हुने शिविरमा मधुमेह तथा मिर्गौलाको रक्त परिक्षण गरिनुका साथै महिलालाई हुने स्तन क्यान्सर, पाठेघर क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम समेत रहेको सचिव बासुदेव पराजुलीले जानकारी दिए ।

२५ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल ६ सय २८ जना शेयर सदस्य पुगेका छन् । २ करोड ४१ लख शेयर पुँजी रहेको सहकारीले १४ करोड ५१ लख निक्षेप संकलन र १५ करोड ४८ लाख कर्जा लगानी गरेको पराजुलीले बताए ।

कमेन्टहरु
Loading...